कोशी प्रदेश फिचर शिक्षा समाचार सूचना प्रबिधि

अंग्रेजी विषयकाे ग्रेड वृद्धि गर्न नि:शुल्क कक्षा सञ्चालन हुँदै

विराटचाेक: नेपाल अंग्रेजी भाषा शिक्षक संघ, नेल्टा कोशी प्रदेशले एसईईको ग्रेड वृद्धि परीक्षाका लागि निःशुल्क अंग्रेजी कक्षाहरु सञ्चालन गर्ने भएको छ ।

यो कार्यक्रम नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्य दृश्य शाखा र नेल्टा बीच भएको सहमति अनुसार आयोजना गरिएको हो। यसले कोशी प्रदेशका विद्यार्थीहरूलाई अंग्रेजी विषयमा आफ्नो ग्रेड सुधार गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ।

कक्षाहरू दुई माध्यमबाट सञ्चालन हुनेछन् अनलाइन र भौतिक । अनलाइन कक्षा २०८१ असार २५ गते, अर्थात् ८ जुलाई २०२४ का दिन बेलुका ७:३० बजेदेखि सुरु हुनेछ । यी कक्षाहरू माइक्रोसफ्ट टिम्स प्लेटफर्म मार्फत सञ्चालन गरिनेछन्। भौतिक कक्षाहरू विभिन्न स्थानमा स्थानीय तह तथा विद्यालयहरूसँगको सहकार्यमा सञ्चालन हुनेछन्।

कोशी प्रदेशका माध्यमिक तहका अनुभवी अंग्रेजी विषयका शिक्षकहरूले यी कक्षाहरू सञ्चालन गर्नेछन्। नेल्टा कोशीका अध्यक्ष गुणराज नेपाल, जो सुकुना बहुमुखी क्याम्पसमा कार्यरत हुनुहुन्छ, उहाँको नेतृत्वमा यो कार्यक्रम आयोजना गरिएको हाे ।

यस कार्यक्रमलाई सफल बनाउन, कोशी प्रदेशका १४ वटा शिक्षा विकास तथा समन्वय इकाइहरूले आ-आफ्ना जिल्लाका पालिकाहरूसँग समन्वय गरिरहेका छन्। साथै, कोशी प्रदेशभित्रका सबै शिक्षा, युवा तथा खेलकुद शाखाहरूलाई आ-आफ्ना पालिकाहरूमा रहेका विद्यालयका विद्यार्थीहरूलाई यस कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ।

नेल्टा कोशीका प्रदेश सदस्य एवं अनलाइन कार्यक्रमका प्रमुख सहजकर्ता टीका सुबेदीले यस कार्यक्रमको महत्त्व बारे बताउँदै भन्नुभयो, ‘यो पहलले विद्यार्थीहरूको अंग्रेजीमा ग्रेड वृद्धि गर्न र उनीहरूको शैक्षिक उपलब्धि बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।’

इन्टरनेट, कम्प्युटर वा मोबाइलको पहुँचमा हुने इच्छुक विद्यार्थीहरूले यस कार्यक्रममा सहभागी हुन र थप जानकारी लिनका लागि जिल्ला स्थित नेल्टा प्रतिनिधिहरूसँग सम्पर्क गर्न सक्नेछन्।

यो निःशुल्क अनलाइन कक्षा SEE परीक्षामा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीहरूका लागि अंग्रेजी विषयमा आफ्नो ग्रेड सुधार गर्ने एक सुनौलो अवसर हो। यस पहलले कोशी प्रदेशका विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ ।