कोशी प्रदेश जीवनशैली फिचर मनोरंजन/कला साहित्य समाचार स्थानिय

अटोको स्टेरिङ पछाडि दुर्गाका सपना, संघर्ष र साहसको सुन्दर यात्रा

हामीले कहिलेकाहीँ समाजको सतही तहमा अल्झिएर असल कथाहरू नदेख्ने भूल गर्छौं। तर एकपटक गहिरिएर हेर्‍यो भने, अटोको स्टेरिङ पछाडि पनि सपना, संघर्ष र साहसको सुन्दर यात्रा लुकेको हुन्छ। यो यात्रा हो—दुर्गा निरौलाको। एउटी आमाको, एउटी छोरीको र एउटी निर्भीक महिलाको । २०३४ सालमा जन्मिएकी दुर्गा भट्टराई परिवारकी कान्छी सन्तान हुन्। आठ जना दाजुभाइ–दिदीबहिनीको मायालु घेरामा हुर्किएकी दुर्गाको बाल्यकाल सामान्य भए पनि सपनाले कहिल्यै सानो सोचेन।

रमाइलोको जनकल्याण माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनले कक्षा ११ र १२ कला संकायमा अध्ययन गरिन्। शिक्षाको यो यात्राले उनलाई जीवनका नयाँ आयाममा प्रवेश गरायो।

२०५३ साल फागुन २४ गते उनले झोराहाटका निलमणि निरौला सँग वैवाहिक जीवन सुरु गरिन्। एक छोरा र एक छोरीकी आमा बनेपछि उनी श्रीमानसँग किराना पसल सञ्चालन गर्दै जीवनलाई अघि बढाउँदै गइन्। तर समयको कठोर हातले उनलाई धेरै कुरा सिकायो—आर्थिक तगाराहरू, सामाजिक अपेक्षाहरू र जीवनका अनगिन्ती चुनौतीहरू। यद्यपि, दुर्गाले कहिल्यै हार मानिनन्।

सुन्दरहरैँचा नगरपालिका ९ बस्दै आएकी उनलाई जीवनका गाडीले घाम र पानी दुवै झेल्न सिकाउँछ, तब असल चालकमात्र अघि बढ्न सक्छ। आर्थिक अभावले गर्दा उनले बैंकबाट ऋण लिएर अटो किनिन् र आफूले नै चलाउने निश्चय गरिन्। समाजका लागि यो कदम अजंगको थियो।
महिला भएर सार्वजनिक सवारी साधन चलाउने कुरा धेरैका लागि अकल्पनीय थियो। सुरुका दिन सजिला थिएनन् यात्रुहरू चकित हुन्थे, हिच्किचाउँथे, कतिले त व्यंग्य गर्थे। तर दुर्गा भन्थिन्, “हो, म सक्दछु। हामी महिलाहरू पनि सक्षम छौं।” उनी अहिले महिनाकाे ३० हजार कमाउँछिन् र ४ जनाकाे परिवारलाई सहजै चलाईरहेकी छन् ।

समयले निरन्तरता र मिहिनेतलाई कहिल्यै बेवास्ता गर्दैन। उनले यात्रुहरूको मन जितिन्—आत्मीयता, सेवाभाव र इमान्दारीबाट। आज उनी आठ वर्षदेखि अटो सेवा दिँदै आएकी छिन्। विराट नेताचोक यातायात प्रा. लि. अन्तर्गत, आफ्नो अटो लिएर बिहान सबेरै घरबाट निस्कने दुर्गाको यात्रामा थकान छैन, केवल सपना छन्—सन्तानको उज्यालो भविष्य बनाउने।

दुर्गा भन्छिन्, “संघर्ष बिना केही पाइँदैन। हामी महिलाले पनि हात बाँधेर बस्नु हुँदैन। पुरुषसरह हामी पनि काम गर्नुपर्छ।” आज दुर्गा निरौला एक अटो चालक मात्र होइनन् उनी साहसको प्रतिमूर्ति हुन्, आत्मनिर्भरताको उदाहरण हुन् र हजारौं महिलाका लागि प्रेरणा हुन्। उनको अटो यात्रामात्र होइन, जीवनको यात्रा पनि उतिकै प्रशंसनीय छ—जहाँ स्टेरिङ पनि उनी आफैंले समातेकी छिन्, अनि गन्तव्य पनि सुन्दर छन् ।