फिचर शिक्षा समाचार स्थानिय

अतिरिक्त क्रियाकलापमा जाेड दिदै हिमालय  स्कुल, “क्लास डान्स आइडल” सम्पन्न 

विराटचाेक:   हिमालय इङ्ग्लिस स्कुल सुन्दरहरैंचा-१०, मोरङले विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले हरेक कक्षाको ” क्लास डान्स आइडल प्रतियोगिता” सम्पन्न गरेको छ।

विद्यालयका प्रिन्सिपल कमल खनालका अनुसार, विद्यार्थीहरूको विभिन्न क्षेत्रमा रहेको प्रतिभा पहिचान गर्न र उनीहरूको हौसला बढाउन यो प्रतियोगिता आयोजना गरिएको हो। उहाँले भन्नुभयो, “हामीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिन्छौं। यस्ता अतिरिक्त क्रियाकलापहरूले उनीहरूको लुकेको प्रतिभालाई बाहिर ल्याउन मद्दत गर्छ।”

प्रतियोगिताको मूल्याङ्कनकर्ताको रूपमा विराट कला समूहका नृत्य प्रशिक्षक बिकास परियार रहनुभएको थियो। हरेक कक्षाबाट उत्कृष्ट तीन छात्र र तीन छात्रालाई प्रमाणपत्र र मेडलद्वारा पुरस्कृत गरिएको प्रिन्सिपल खनालले जानकारी दिनुभयो।

छोटो समयमै यस विद्यालयले शैक्षिक र अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गरेको छ। हाल ३५० जना विद्यार्थी अध्ययनरत यस विद्यालयले पढाइसँगै विभिन्न गतिविधिहरू सञ्चालन गरेर विद्यार्थीहरूको समग्र विकासमा ध्यान दिएको छ।

प्रिन्सिपल खनालले थप्नुभयो, “हाम्रो लक्ष्य केवल शैक्षिक उत्कृष्टता मात्र होइन, विद्यार्थीहरूको कला, संस्कृति र व्यक्तित्व विकासमा पनि योगदान पुर्‍याउनु हो। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्दछ।”

यो प्रतियोगिताले विद्यार्थीहरूमा नृत्यप्रतिको रुचि बढाउनुका साथै उनीहरूको आत्मविश्वास र सामाजिक सीपहरू विकास गर्न मद्दत गर्ने विश्वास गरिएको छ।