कोशी प्रदेश समाचार स्थानिय

अपाङ्गता भएका व्यक्तिहरुसँग घरदैलोमा उपप्रमुख चाैधरी

अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तर सुधारका लागि माेरङकाे सुन्दरहरैंचा नगरपालिकाले विशेष अभियान सञ्चालन गरेको छ। नगर उपप्रमुख अकली चौधरीको नेतृत्वमा गरिएको घरदैलो कार्यक्रममा चौधरी आफैँ पूर्ण अशक्त अपाङ्गता भएका नागरिकहरुको घरघरमै पुगेर अवस्था बुझ्ने गर्नुभएको छ । सबै वडामा अहिले यो अभियान संचालन भईरहेकाे छ ।

नगर उपप्रमुख चौधरीको अगुवाइमा सञ्चालन गरिएको यस अभियान अन्तर्गत अपाङ्गता भएका १ हजार ५ सय ४४ व्यक्तिको तथ्यांक संकलन गरिएको छ। कार्यक्रमको क्रममा उनीहरूको आवश्यकतालाई मध्यनजर गर्दै ह्वील चेयर, ट्वाइलेट चेयर लगायत सहायक सामग्रीहरूको नापजाँच समेत गरिएको हो।

नगर उपप्रमुख चौधरीले यस अभियानलाई अपाङ्गता भएका नागरिकप्रतिको स्थानीय सरकारको जिम्मेवारीको रूपमा लिएको बताउँदै भने, “हाम्रो प्रयास अपाङ्गता भएका व्यक्तिहरूको आत्मनिर्भरता र सम्मानजनक जीवन सुनिश्चित गर्न हो। घरमै पुगेर सहयोग गर्ने प्रणालीलाई आगामी दिनमा अझ प्रभावकारी बनाइनेछ।” उहाँले बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरुको मागअनुसार ह्वीलचेयर १२ थान, म्याट्रेस ५ थान, डाइपर ८ थान, सेतो छडी १ थान, लठ्ठी १ थान तथा ट्वाइलेट चेयर ५ थान वितरण गरिनेछ।