फिचर समाचार स्थानिय

आँखिभूईमा बैंकिङ सेवा: वृद्ध भत्ता लिनेलाई राहत, मुढे धाउने बाध्यता हट्यो 

धर्मदेवी: सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा नं. ९ स्थित आँखिभूई बिहीबारे बजारमा नेपाल एसबिआई बैंकको शाखारहित बैंकिङ केन्द्र सञ्चालनमा आएको छ। नगरप्रमुख उदयचन्द्र पौडेलको विशेष पहलमा सर्वसाधारण, विशेषगरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरूलाई सहज सेवा दिने उद्देश्यले यो केन्द्र स्थापना गरिएको हो।

यसअघि नगरपालिकाको केन्द्र मुढेशनिश्चरेबाट मात्र वित्तीय सेवा उपलब्ध थियो। जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूले केवा बगरको छेउबाट मुढेसम्म यात्रा गर्नुपर्ने बाध्यता थियो। यात्रा खर्च र समय बचतका साथै सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राखी यो नयाँ केन्द्र स्थापना गरिएको हो।

वडा नं. ९ का अध्यक्ष चित्रकुमार कार्कीले यस केन्द्रले वडाबासी नागरिकहरूलाई सहज सेवा प्रदान गर्ने बताए। स्थानीय डम्बर बिष्टका अनुसार यो सेवाले विशेषगरी नगरपालिकाको वडा नं. ६, ७, ८, ९ र ५ का नागरिकहरूलाई समेत फाइदा पुग्नेछ।

धर्मदेवी नगरपालिकामा यसअघि वाणिज्य वा विकास बैंकको कुनै शाखा थिएन। स्थानीय तह गठन भएपछि एउटा ‘क’ वर्गको बैंकले मात्र सेवा दिइरहेको छ। लघुवित्त, सहकारी संस्था र अन्य वित्तीय संस्थाहरू भए पनि सरकारी स्तरको कुनै बैंक छैन।

नगरप्रमुख पौडेलले वडाअध्यक्षहरूको सहयोग, स्थानीयहरूको चासो र बैंकको समन्वयकारी भूमिकाले यो सेवा सञ्चालन गर्न सफल भएको बताए। यस नयाँ बैंकिङ केन्द्रले स्थानीयबासीलाई राहत दिनुका साथै आर्थिक गतिविधिलाई सहज बनाउने अपेक्षा गरिएको छ।