कोशी प्रदेश फिचर समाचार स्थानिय

आत्मानिर्भर कृषि सहकारी संस्थाको नयाँ नेतृत्व चयन, अध्यक्षमा भट्टराई 

विराटचोक/ आत्मानिर्भर कृषि सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा शनिबार मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ स्थित नवसृजना युवा क्लबको सभाहलमा सम्पन्न भएको छ।

साधारणसभाले राजु भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा टेकनाथ बराल, सचिवमा केदार श्रेष्ठ र कोषाध्यक्षमा पुष्पा विक चयन भएका छन्। सदस्यहरूमा कृष्णचन्द्र सुवेदी, ओमकुमारी बानिया, भोगेन्द्र न्यौपाने, गिता गौतम, होमबहादुर खड्का, चन्द्रप्रसाद ढकाल र राधादेवी मिश्र रहेका छन्।

लेखा समितिको संयोजकमा विवेक भट्टराई तथा सदस्यहरूमा भागुमाया बस्नेत अर्याल र तुलसा पोख्रेल चयन भएको निर्वाचन समिति संयोजक गोकुलबहादुर थापाले जानकारी दिनुभयो।

साधारणसभामा संस्थाकी कार्यवाहक अध्यक्ष मनुका थापाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रम र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले कृषि क्षेत्रमा यो सहकारीबाट ऋण लिएर धेरै कृषकहरू आत्मनिर्भर बनेको बताउनुभयो।

संस्थाका सचिव राजु भट्टराईले २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कृषि समूहलाई सक्रिय बनाउने, नियमित बचत तथा ऋणलाई व्यवस्थित गर्ने, स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य गर्ने र सहुलियत ऋण शेयर सदस्यलाई दिने योजना रहेको बताउनुभयो।

साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट ऋणी मिनादेवी दुलाल, उत्कृष्ट मासिक बचतकर्ता शारदा दनुवार, उत्कृष्ट बाल बचततर्फ लेखिका बि.क. र ज्येष्ठ शेयर सदस्य बिमलादेवी शाहलाई सम्मान गर्यो।

२८० शेयर सदस्य रहेको यो संस्थाको शेयर चुक्ता पुँजी ४८ लाख ८३ हजार रहेकोमा आगामी आर्थिक वर्षमा ७० लाख पुर्याउने लक्ष्य लिएको छ।

लेखा समिति संयोजक विवेक भट्टराईले ऋण लगानी गर्दा थप सतर्कता अपनाउनुपर्ने र आगामी दिनमा कडाईका साथ लगानी नगरे समस्या हुनसक्ने चेतावनी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा वडा नम्बर १२ का वडाध्यक्ष एवं नगर प्रवक्ता रोशनप्रसाद ढकालले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी अभियानले परिवारका साना समस्या समाधान गर्न सहयोगी भूमिका खेल्नुपर्ने बताउनुभयो। केही व्यक्तिले गरेका खराब कामले सहकारी क्षेत्र बदनामको अवस्थामा पुगेको भन्दै सबै सदस्यले आफ्नो सहकारीको अवस्थाबारे नियमित जानकारी लिनुपर्नेमा जोड दिनुभयो।

उहाँले सहकारीको विनियमअनुसार सदस्यको बचतलाई सही ठाउँमा लगानी गर्न र कृषि क्षेत्रबाट आत्मनिर्भर बन्न यस्ता सहकारीले नयाँ योजना ल्याउन सुझाव दिनुभयो।