इटहरीको ट्यांग्रा खोलामा डुबेर आइतबार दिउँसो २ जना बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृतक दुवै जना ९ वर्षका छन् । इटहरी उपमहानगरपालिका–३ स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर दिउँसो ३ बजेतिर बालकहरु घाइते भएका थिए ।
गम्भीर अवस्थामा उद्धार गरेर उपचारका लागि पठाइएका इटहरी–३ कल्याण चोकका दीपसन चौधरी र इटहरी–२ का क्रिश्वास लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले बताए । उनका अनुसार दुवै जनालाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पठाइएको थियो ।
प्रहरीका अनुसार चिकित्सकले दीपसनलाई दिउँसो ३ः४३ बजे र क्रिश्वासलाई ३ः५३ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । डीएसपी भण्डारीले ट्यांग्रा खोलामा पौडी खेल्ने क्रममा दुवै बालक डुबेको जानकारी दिए ।
भण्डारीले बालकहरुको शव विराट शिक्षण अस्पतालमै रहेको र घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी दिए ।




