विराटचाेक: मोरङ र सुनसरीको सिमानामा रहेको बुढीगंगा जमुना मुक्तिघाटमा छठ पर्वको तयारी सुरु भएको छ । ३५ वर्ष अघिदेखि लालटिन बालेर सुरु भएको यो छठ पूजा अहिले देशकै ठूलो र भव्य पर्वको रूपमा परिचित छ । यहाँ मोरङ-सुनसरीका इटहरी उपमहानगर र सुन्दरहरैंचा नगरपालिकाका करिब २ लाख भक्तजनको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।
हरेक वर्ष मनाइँदै आएको छठ पर्व यस वर्ष पनि भव्यताका साथ मनाउन भोलि (कात्तिक २० गते) कलश शोभायात्रा गरिने छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार चौधरीले बताए ।
स्थानीय सरकार र विभिन्न संघसंस्थाको सहयोगमा हुने पूजाका लागि अहिले खोला सजाउने काम भइरहेको छ । यो वर्ष दुवैतर्फ गरी ६ सयभन्दा बढी छठ घाट निर्माण हुने भएको छ । जसको तयारीस्वरूप पानीको बहाव एकतर्फी र जमिन सम्याउने कामसँगै छठ घाट निर्माणलाई पनि तीव्रता दिइएको छठ पर्व सेवा समितिका सचिव मुकेश कुमार चौधरीले बताए ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्व यो वर्ष कात्तिक २२ गते पर्न गएको छ । कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कात्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने यो पर्वमा व्रत बसेर छठ घाटभित्र प्रवेश गरी सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिनेले कात्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने गरिन्छ ।
कात्तिक शुक्ल पञ्चमीका दिन व्रतालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ । व्रतालुले छठको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ । भोलिपल्ट अर्थात् कात्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ । यो कार्यक्रम सम्पन्न गर्न करिब २६ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।