खेलकुद फिचर

एनपीएलको दोस्रो सिजनमा अपराजित सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौंः जारी सिजनमा अपराजित रहेको सुदूर पश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको हो ।

सुदूर पश्चिमका लागि आरिफ शेखले ३२ बलमा १ चौका र ३ छक्काको मद्दतमा अविजित रहँदै ४५ रन बनाए । यस्तै इशान पाण्डेले ३५ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा ३८ रन जोडे । तेस्रो विकेटका लागि इशान पाण्डे र आरिफ शेखले ७२ रनको साझेदारी गरेका थिए ।

ओपनर जोश ब्राउनले २५ बलमा २४ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ छक्का प्रहार गर्दै १९ रन बनाए । विनोद भण्डारीले १३ बलमा १५ रन जोडे ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । अन्तिम ओभर मात्र बलिङ गरेका प्रतिश जिसीले ४ रन खर्चेर २ तथा बसिर अहमदले १ विकेट लिए ।

सुदूरपश्चिम र विराटनगर दुवैले प्लेअफमा स्थान बनाइसकेका छन् । सुदूरपश्चिमले शीर्ष स्थान नै सुरक्षित गर्दै पहिलो क्वालिफायर खेल्ने भइसकेको छ । अब यो खेलको नतिजापछि सुदूरसँग पहिलो क्वालिफायर खेल्ने टोलीको पनि टुङ्गो लाग्नेछ । सुदूरले दिएको लक्ष्य १३ ओभर मात्रै पूरा गरेमा विराटनगरले काठमान्डु गोर्खाजलाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ र सुदूरसँग पहिलो क्वालिफायर खेल्नेछ ।