फिचर राजनीति समाचार

एमालेले राष्ट्रिय सभा सदस्य चुनावमा सबै सिटमा उम्मेदवारी दिने

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमाले ले राष्ट्रिय सभा सदस्य चुनावमा सबै सिटमा उम्मेदवारी दिने भएको छ । आज शुक्रवार ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय सभाको १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय सभा चुनावका लागि प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरूको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले छ जनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत पनि गरेको छ । प्रदेश कमिटीको अध्यक्षबाट बाहिरिएका कोशी प्रदेशका पाँच जना नेताहरू– कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, बाग्मती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह, सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी र मधेस प्रदेशका राम अवतार यादवलाई एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेको हो । यस्तै लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय बैठकले गरेको महासचिव पोखरेलले बताउनुभयो ।

त्यसैगरी एमालेले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा भएका सम्झौताबारे पार्टीसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाउँदै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गरेको छ ।