मोरङ । एसियन हाइवेअन्तर्गत पर्ने काँकडभिट्टा–लौकही सडकखण्डको मोरङस्थित पश्चिमी हिस्सामा मंगलबारदेखि औपचारिक रूपमा कालोपत्रे कार्य सुरु गरिएको छ। मोरङको लक्ष्मीमार्गदेखि चिसाङ खोलासम्मको करिब १० किलोमिटर सडकमा पहिलो चरणमा एकतर्फी कालोपत्रे थालिएको हो।
सडक निर्माणको जिम्मा लिएको सीआरएफजी–टुण्डि जेभी निर्माण कम्पनीले असार महिनाभित्रै पहिलो चरणको काम सम्पन्न गर्ने लक्ष्य राखेको छ। कम्पनीका कन्ट्रयाक इन्जिनियर डोरमणि पौडेलका अनुसार मौसम अनुकूल रहेमा दैनिक झन्डै आधा किलोमिटरभन्दा बढी कालोपत्रे कार्य हुने बताइएको छ।
अन्तर्राष्ट्रिय रणनीतिक महत्व बोकेको यो सडक एसियन हाइवे सञ्जालमा पर्दछ। पूर्वी नाका काँकडभिट्टादेखि पश्चिमी सीमा गौरा फन्टा (कैलाली)सम्मको यो सडकले पूर्व–पश्चिम यातायात तथा व्यापारिक आवागमनलाई सहज बनाउने बताइएको छ।
काँकडभिट्टादेखि इटहरीसम्मको ९५ किलोमिटर सडकलाई पाँच भागमा विभाजन गरिएको छ। जसमध्ये तीन खण्ड सडक निर्माणका लागि र दुई खण्ड पुल निर्माणका लागि छुट्याइएको हो।
पूर्वतर्फको काँकडभिट्टा–केर्खा ४५ किलोमिटर सडक खण्डको निर्माण कार्य कालिका कन्स्ट्रक्सनले गरिरहेको छ। केर्खादेखि गोठगाउँसम्मको खण्ड सीआरएफजी–टुण्डि जेभीको जिम्मामा छ भने गोठगाउँदेखि इटहरीसम्मको खण्ड कोभेक सीआइजीसी–टुण्डि जेभीले निर्माण गरिरहेको छ।
इटहरी खण्डमा भने सडकछेउका संरचना तथा स्थानीयको अवरोधका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन। जिल्ला प्रशासन कार्यालय, सुनसरीले सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र ती संरचना हटाउन आग्रह गरिसकेको छ।
सडक निर्माणको सम्झौता सन् २०२४ फेब्रुअरी २ मा गरिएको हो भने निर्माण सम्पन्न गर्ने म्याद सन् २०२७ फेब्रुअरी २ सम्म तोकिएको छ। आयोजनामा गुणस्तरीय निर्माण सुनिश्चित गर्न अन्तर्राष्ट्रियस्तरका कन्सल्टेन्टमार्फत प्राविधिक परीक्षण र मूल्याङ्कनको कार्य पनि भइरहेको जनाइएको छ।