खेलकुद फिचर समाचार

ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगे ओलम्पिक खेलाडी

ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू विराटनगर आइपुगेका छन् । कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसियालगायतका देशका ओलम्पिक खेलाडी विराटनगर आइपुगेका हुन् ।

विराटनगर विमानस्थलमा बुधबार दिउँसो कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले आठ जना ओलम्पिक खेलाडीलाई स्वागत्–सम्मान गरिन् । उनीहरूलाई स्वागत गर्दै उपाध्यक्ष कार्कीले ओलम्पिकजस्तो खेलकुदको महाकुम्भमा सहभागिता जनाएका खेलाडीलाई कोशी प्रदेशमा स्वागत गर्न पाउँदा खुसी लागेको सुनाइन् ।

उनका अनुसार आज विराटनगर आइपुगेका खेलाडीहरूलाई साँझतिर विराटचोकस्थित नेपारिका होटलमा स्वागत्–सम्मान गर्ने र बिहीबार सुनसरीको इटहरीस्थित रंगशालामा वाकाथनमा सहभागी गराइने छ । शुक्रबार भने खेलकुदबाटै पर्यटनमा टेवा पु¥याउने उद्देश्यले आयोजना हुने इलाम भ्रमणमा खेलाडी सहभागी हुने कार्कीले जानकारी दिइन् ।

यस्तै, नेपाल ओलम्पिक एसोसिएसनकी सचिव देबु थापाले विभिन्न प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका खेलाडीलाई फेरि एकै स्थान उभ्याउन प्रयास गरिरहेको बोर्डको काम सराहनीय रहेको बताइन् ।

खेलाडीसँगै आएका हास्यकलाकार सन्दीप क्षेत्रीले राष्ट्रका गहना मानिने खेलाडीको सम्मानमा यस्तो कार्यक्रम आयोजना हुँदा खेल क्षेत्रले फट्को मार्ने सुनाए । उनले पुनर्मिलन कार्यक्रमले पुराना खेलाडीमा सम्मान महसुस दिलाउनेमात्र नभएर खेलक्षेत्र प्रवेश गर्दै गरेका युवा पुस्तामा पनि हौसला मिल्नेमा आफू विश्वस्त रहेको बताए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । आज मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट सुरु हुने कार्यक्रम इटहरी, बिर्तामोड हुँदै इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तु र कन्याममा पुगेर सम्पन्न हुनेछ ।

पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी र २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीलाई सहभागिता गराइने छ । विदेशी ओलम्पियनस पनि कार्यक्रममा सहभागी हुने छन् ।

बोर्डले खेलकुद पर्यटनलाई उजागर गर्नेगरी पहिलोपटक एकै ठाउँ धेरै खेलाडीलाई प्रदेशमा ल्याउन लागेको हो । उनीहरूलाई भित्र्याउँदा यहाँका खेलप्रेमीलाई समेत पुराना नयाँ खेलाडीलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर हुने आयोजकको ठम्याई छ ।

चार दिने भ्रमणका क्रममा खेलाडीलाई मोरङ, सुनसरी, झापा र इलाम जिल्लामा पर्यटन र खेल प्रवर्द्धनमा जोड मिल्नेगरी अघि बढाइने छ तथा खेल पर्यटनसँगै श्रीअन्तु पर्यटकीय क्षेत्रलाई समेत पुनर्मिलन भ्रमण कार्यक्रमले थप उजागर गर्ने बताइएको छ ।

नेपालले सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्मका ओलम्पियन, ओलम्पिक एसोसिएसनका अध्यक्ष तथा पदाधिकारी, खेलाडी लगायतलाई खेलप्रेमीमाझ उतार्ने बोर्डले जनाएको छ ।

कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने छन् । कार्यक्रममा करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।