मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नगरभित्रका ९ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कूल व्याग वितरण गरेको छ।
आर्थिक रूपमा कमजोर छात्राछात्रालाई लक्षित गर्दै १९५ वटा स्कूल व्याग वितरण गरिएको संस्थाका व्यवस्थापक गोपाल देउजाले जानकारी दिए।
जनचेतना आधारभूत विद्यालय, आदर्श आधारभूत विद्यालय, श्री जनसेवा आधारभूत विद्यालय , श्रीलाल आधारभूत विद्यालय , श्री बुद्ध आधारभूत विद्यालय , श्री श्रीखण्ड माध्यमिक विद्यालय , श्री सिंहदेवी आधारभूत विद्यालय, श्री जनता माध्यमिक विद्यालय र श्री महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्याग वितरण गरिएको हो।
संस्थाले यस वर्ष २१ वटा सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रममार्फत १५ सयभन्दा बढी सेयर सदस्यलाई सहकारीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरी सुझाव संकलन गरेको संस्थाका अध्यक्ष नागेश पोखरेलले बताए।
मोरङ जिल्लाका प्रमुख सहकारी संस्थामध्ये एक मानिने कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सामाजिक क्रियाकलापमा रक्तदान र सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरिसकेको छ।