कोशी प्रदेश फिचर समाचार

कन्काईमा कानूनी परामर्श सम्बन्धी तालिम सम्पन्न

झापा :  कन्काई नगरपालिका वडा नं. २ मा नगरपालिकाको न्यायिक समिति, मेलमिलापकर्ता, वडाका निर्वाचित पदाधिकारी र सामाजिक स्वयंसेवकका लागि कानूनी परामर्श सम्बन्धी तालिम सम्पन्न भएको छ। कन्काई नगरपालिकाको समन्वय र कारितास नेपालको आयोजनामा वडा नं. २ को कार्यालयमा सञ्चालित तालिम शनिबार सम्पन्न भएको हो।

तालिम कन्काई नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यता र वडा नं. २ का अध्यक्ष बलराम राईको अध्यक्षतामा कार्तिक ९ र १० गते दुई दिनसम्म सञ्चालन भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा न्यायिक समिति संयोजक शिवाकोटीले मेलमिलाप विवाद समाधानको उत्तम वैकल्पिक उपाय भएको बताइन्। उनका अनुसार मेलमिलाप प्रक्रियाबाट विवाद समाधान हुँदा छिटोछरितो र जित-जितको अवस्था सिर्जना भई पक्षहरूबीच सामाजिक सम्बन्ध समेत पुनर्स्थापित हुने भएकाले यसको महत्व उच्च रहेको छ। उनले नगरपालिकाका सबै वडामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना भएको र ती केन्द्रहरूलाई लक्षित गरी कानूनी परामर्श तालिम आवश्यक रहेको बताउँदै मेलमिलापकर्ताका लागि बेलाबेलामा यस्ता अन्तर्क्रिया र छलफल हुनुपर्ने धारणा राखिन्।

सहभागीको तर्फबाट पुष्पप्रसाद ओझा र उषा मैनाली चुडालले तालिममा सिकेका कुराहरू व्यवहारमा लागू गरिने प्रतिबद्धता जनाए।

तालिमको सहजीकरण झापा जिल्ला अदालतका शाखा अधिकृत एवं मेलमिलाप प्रशिक्षक रामचन्द्र बस्नेत र अधिवक्ता एवं मेलमिलाप प्रशिक्षक सानु कार्कीले गरेका थिए। तालिममा कन्काई नगरपालिका न्यायिक समितिका सदस्य र नौवटै वडाका मेलमिलापकर्ता गरी २८ जनाको सहभागिता रहेको थियो।