विचार समाचार स्थानिय

करवृद्धिविरुद्धको सङ्घर्ष समितिद्वारा नगरप्रमुख गुरागाईँलाई ज्ञापनपत्र

सुन्दरहरैँचा अव्यवहारिक तवरले जग्गाको वर्गीकरण गरेर नगरवासीलाई कर थोपरेको भन्दै सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाईँलाई करवृद्धिविरुद्धको सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउँदै समितिका सदस्य दुष्यान्त भट्टराईले जग्गा बेचेर कर तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न करको दरमा पुनरावलोकन गर्नुपर्ने बताए ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख गुरागाईँले जग्गाको भूवर्गीकरण गर्ने क्रममा धेरै जनाले आफ्नो जग्गा कृषिमा राख्न नचाहेकाले सामान्य कर बढेको भन्दै नगरवासीलाई मार पर्ने गरी कर नबढाइएको बताए । कतिपय जग्गाको कर घटेको पनि उनले जानकारी दिए ।

कसैले आफ्नो जग्गाको वर्गीकरण परिवर्तन गर्न चाहेमा नगरमा निवेदन दिएमा जग्गाको वर्गीकरण आइतबारदेखि परिवर्तन हुने ज्ञापनपत्र बुझाउने टोलीलाई नगरप्रमुखले आश्वासन दिए ।

नगरप्रमुखलाई ज्ञापनपत्र दिनुअघि सङ्घर्ष समितिले सर्वपक्षीय छलफल आयोजना गरेको थियो । छलफलमा विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य संघलगायतका विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

करको दर नसच्याए भदौ ११ गतेदेखि थप सशक्त आन्दोलन गर्ने समितिले जनाएको छ ।