नेपाली कला र संगीत क्षेत्रमा केपी घिमिरेको “नझरेका फूलहरू” एक अनौठो र सराहनीय अभियानको रूपमा स्थापित भएको छ। बाल्यकालदेखि नै गीत-संगीतप्रति विशेष लगाव राख्ने घिमिरेले विगत एक दशकदेखि यस कार्यक्रम मार्फत नेपाली साहित्य, कला र संगीत क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूलाई सम्मान गर्दै आएका छन्। कार्यक्रमको ४३औं शृङ्खलासम्म आइपुग्दा दुई सय भन्दा बढी प्रतिष्ठित कलाकारहरू सम्मानित भइसकेका छन्, बिहिवार मात्रै प्रख्यात गायक तथा अभिनेता मुरलीधर पनि सम्मानित भए । उनले गीत सङ्गीत मात्रै नभएर अभिनय क्षेत्रमा समेत उल्लेख्य याेगदान गरेका छन् । पाैराणिक कथा महाभारतमा पनि अभिनय गरेका मुरलीधर शायद घिमिरे हुन्थेनन् भने यहाँका दर्शककाे सामीप्यतामा आउने थिएनन् । उनी अहिले प्रदर्शन भइरहेको नेपाली चलचित्र १२ गाउँमा समेत खलनायककाे भूमिकामा रहेका छन् ।
घिमिरे प्रस्ताेता रहेका नझरेका फूलहरूकाे यो अभियानको बीज रेडियो सुसेलीबाट रोपिएको थियो, जहाँ घिमिरेले कलाकारहरूसँग अन्तर्वार्ता लिने गर्थे। उनको कार्यक्रम यति लोकप्रिय थियो कि श्रोताहरू यसलाई नसुनी सुत्न सक्दैनथे। “नमस्कार म केपी घिमिरे, आज पनि तपाईंको छेउमा सुटुक्क आएको छु” भन्ने उनको परिचित आवाजले श्रोताहरूलाई भावविह्वल बनाउँथ्यो। त्यस बेला श्रोताहरूले रेडियोमा पत्र पठाउने चलन थियो, जसमध्ये केही अझै पनि रेडियाेकाे स्टुडियोमा संरक्षित छन् ।
घिमिरेको विशेष प्रतिभा भनेको कुनै पनि गीतको सम्पूर्ण विवरण – लेखक, गायक, संगीतकार र गीत बन्ने क्रमको इतिहास सम्झन सक्ने क्षमता हो। उनले कलाकारहरूसँग यस्तो घनिष्ठ सम्बन्ध बनाए कि काठमाडौं उपत्यकाका कलाकारहरूले विराटचोकलाई आफ्नो दोस्रो घर मान्न थाले। मोरङको सुन्दरहरैंचामा आयोजना हुने यस कार्यक्रममा रामकृष्ण ढकाल, ज्ञानु राणा, मीरा राणा, गणेश रसिक, कुबेर नेपाली, लेखु विवश, अजर जंगम, सीताराम ताजपुरिया, दीप श्रेष्ठ, शम्भु राई, कविता आले, रेखा शाह तुलसी पराजुली, नवराज लम्साल, राज सिग्देल, हेमन्त शर्मा र शिशिर योगी जस्ता राष्ट्रिय स्तरका कलाकारहरूलाई सम्मान गरिसकिएको छ ।
घिमिरेका अनुसार यस अभियानको मूल उद्देश्य राष्ट्रका गरिमामय निधि र पहिचान बनेका यी प्रतिभाहरूलाई जीवितै छँदा सम्मान गर्नु हो। उनको यो प्रयास नेपाली कला र साहित्य क्षेत्रमा एक अनुकरणीय कार्यको रूपमा स्थापित भएको छ। “नझरेका फूलहरू” अब एउटा ब्रान्डको रूपमा विकसित भएको छ, जसलाई स्थानीय समुदायको निरन्तर साथ र सहयोग प्राप्त छ। घिमिरेको कलाकारप्रतिको यो असाधारण समर्पण र मायाले उनलाई नेपाली कला क्षेत्रको एक विशिष्ट व्यक्तित्वको रूपमा स्थापित गरेको छ ।