मोरङको कानेपोखरीमा घरायसी विवादले रक्तपातको रूप लिँदा एक महिलाको मृत्यु भएको छ भने एक छिमेकी घाइते भएका छन्।
कानेपोखरी गाउँपालिका–१ झरनाकुटुकी ४० वर्षीया दुर्बी सतारको पतिको कुटपिटबाट मृत्यु भएको हो। मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारका अनुसार आइतबार राति करिब ८ बजे ४५ वर्षीय बाबुधन सतारले पत्नी दुर्बीलाई घरायसी विवादका क्रममा कुटपिट गरेका थिए।
कानमा गम्भीर चोट लागेर घाइते भएकी दुर्बीलाई तत्काल विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। तर सोमबार साँझ उपचारमै घर फर्काउने क्रममा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
पति–पत्नीबीचको झगडा रोक्न गएका ५० वर्षीय छिमेकी छोटेलाल हस्दा पनि घटनामा परेर घाइते भएका छन्। टाउकोमा चोट लागेका उनको अवस्था सामान्य छ र हाल कोशीमै उपचार भइरहेको छ।
घटनापछि प्रहरीले बाबुधनलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा दर्ता गर्ने तयारी गरेको छ। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्यालको नेतृत्वमा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




