कोशी प्रदेश फिचर समाचार स्थानिय

कानेपोखरीद्वारा अपाङ्गता भएका १८ जनालाई सहायक सामाग्री सहयोग

बिराटचाेक : मोरङको कानेपोखरी गाउँपालिकाले पालिका भित्र रहेका १८ जनालाई अपाङ्गता सहायक सामाग्री वितरण गरेको छ। बुधबार पालिकामा विभिन्न प्रकारका १८ जना अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता सहायक सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष राजमति इङ्गनामले जानकारी दिइन।

अध्यक्ष इङ्गनामका अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई ट्राइसाइकल, कृत्रिम खुट्टा, साइम्स, वकर, लौरो, बैशाखी, सीपी कुर्सी लगायत सहायक सामाग्री उपलब्ध गराएको हो। अपाङ्गताको अवस्था फरकफरक हुने भएकाले सोही अनुसारको सहायक सामाग्री वितरण गरिएको अध्यक्ष इङ्गनामले बताइन्।

अपाङ्गता व्यक्तिहरूलाई निश्चित गतिविधिहरू गर्न, समाज भित्र समान पहुँच प्राप्त गर्न गाह्रो हुने भएकाले आवश्यक सहायक सामाग्री वितरण गरिएको उनको भनाइ छ। सामाग्री वितरणमा पालिका अध्यक्ष इङ्गनाम, उपाध्यक्ष भोला अधिकारी र ओ.पि.डी. समितिका सदस्यहरू सहित विभिन्न पदाधिकारीहरू उपस्थित थिए।

कार्यक्रममा प्राविधिक सहयोग सी.बी.आर., समन्वय ओ.पि.डी. नवप्रगति संस्था र आयोजना कानेपोखरी गाउँपालिका महिला बालबालिका शाखाको रहेको थियो।