कोशी प्रदेश समाचार स्थानिय

कानेपोखरीमा निःशुल्क कुकुर बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप सञ्चालन

विराटचाेक / मोरङको कानेपोखरी गाउँपालिका पशु सेवा शाखा बयरवनको आयोजनामा निःशुल्क कुकुर बन्ध्याकरण शिविर तथा रेबिज विरुद्धको खोप कार्यक्रम गाउँपालिकाको प्राङ्गणमा पुस २८ गतेदेखि सञ्चालन भइरहेको छ। गाउँघरका कुकुरहरूको सङ्कलन पुस २७ गते गरिएको थियो।

दुई दिन चल्ने यस कार्यक्रमको पहिलो दिन १११ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। कार्यक्रमको मुख्य उद्देश्य कानेपोखरीमा सामुदायिक कुकुरको सङ्ख्या नियन्त्रण गर्ने, रेबिजको जोखिम घटाउने र गाउँघरमा कुकुरबाट हुने समस्या न्यूनीकरण गर्ने रहेको छ।

नेपाल एग्रो लाइभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरी, सुनसरीका प्राविधिकहरूको सहयोगमा सञ्चालित यस शिविरमा करिब ३०० कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको छ। यस्तो कार्यक्रम गत वर्ष पनि सञ्चालन गरिएको थियो।