कोशी प्रदेश फिचर समाचार स्थानिय

कुकुरको प्रयोग गरेर लागुऔषध ओसारपसार

विराटनगर । प्रहरीलाई छल्नका लागि कुकुरको प्रयोग गरेर लागुऔषध ओसारपसार गर्ने गरिएको पत्ता लागेको छ ।
भारतको जोगवनीबाट कुकुरको प्रयोग गरेर लागुऔषध ल्याउँदै गर्दा मोरङको उर्लाबारी नगरपालिका–४ का २४ वर्षीय प्रशान भण्डारीलाई प्रहरीले बिहीबार साँझ ५ बजेतिर पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट कुकुरसहित भण्डारी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय रानी सीमाका प्रमुख एवं सई सुवास अधिकारीको नेतृत्वमा विराटनगरस्थित लागुऔषध नियन्त्रण ब्युरोसमेतको टोली नेपाल–भारत सीमा क्षेत्रनजिक आकस्मिक चेकजाँचमा खटिएको थियो । त्यस क्रममा १ जना युवक कुकुर डोर्याउँदै भारतको जोगवतीतिरबाट आउँदै थिए ।
उनको गतिविधि शंकास्पद लागेपछि नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गरेको थियो । तर, साथमा केही फेला परेन । सोधपुछ गर्ने क्रममा कुकुरको घाँटीमा बाँधेको ‘बेल्ट’ (पेटी)भित्र लुकाइछिपाइ ल्याएको अवस्थामा लागुऔषध फेला परेको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले दिए ।
उनका अनुसार मान्छेले बोक्दा प्रहरीले पत्ता लगाउने बुझेर भण्डारीले लागुऔषध ओसारपसार गर्न कुकुरको प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । कुकुरको घाँटीमा बाँधेको ‘बेल्ट’भित्र लुकाएर ल्याएको लागुऔषधजस्तो देखिने वस्तु ब्राउन सुगर (खैरो हेरोइन) ३.३६ ग्राम र नाइट्राजेपाम ३५ ट्याब्लेट बरामद गरिएको जोशीको भनाइ छ ।