सुन्दरहरैँचा / माेरङकाे बेलबारी नगरपालिकास्थित बेलबारी बहुमुखी क्याम्पसमा बुधबार साहित्यकार केसु विरहीद्वारा लेखित ‘उपद्रष्टा हर्कमान तामाङ’ कृर्तिकाे लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
पठन संस्कृतिको विकास तथा लेखक, स्रष्टाप्रति सम्मान गर्ने उद्देश्यले प्रमुख अतिथिबाटै लेखकको कृति खरिद गरेर सोही कृतिको लोकार्पण गर्ने कामको सुरूआत भएको छ । मोरङको बेलबारीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथिहरूबाट कृति खरिद गरेर त्यसैको लोकार्पण गरेका हुन् । नेपाली साहित्यमा कथा, उपन्यास, गजल, बालकथा, अनुसन्धान तथा समालोचनाका क्षेत्रमा कलम चलाउने, पछिल्लो समय भने अनुसन्धानका पुस्तक लेख्तै आएका विरहीले आफ्नै पुस्तक बेचेर बेलबारीमा अनुसन्धान अक्षयकोष निर्माणको अभियान सुरु गरेका छन् । सामाजिक तथा सांस्कृतिक अभियन्ता, अग्रज स्रष्टा हर्कमान तामाङका बारेका तयार पारेको पुस्तक ‘उपद्रष्टा हर्कमान तामाङ’ को बिक्रीबाट प्राप्त भएको कम्तीमा ५० प्रतिशत रकमले बेलबारी बहुमुखी क्याम्पसमा एउटा अनुसन्धान अक्षयकोष निर्माण गर्ने र यसबाट प्राप्त ब्याजबापतको रकमबाट अनुसन्धान गर्ने कम्तीमा एक जना विद्यार्थीलाई पुरस्कृत गरिने विरहीले जानकारी दिए ।
बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङको आयोजना, बेलबारी बहुमुखी क्याम्पस तथा जुझारु मिडिया एन्ड रिसर्च सेन्टर, बेलबारी मोरङको सह आयोजनामा सम्पन्न कार्यक्रममा कोसी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले कार्यक्रमको उद्घाटन गरेका थिए । लोकार्पित कृतिमाथि डा. दीपकप्रसाद न्यौपानेको समीक्षा रहेको थियो । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, भाषाविद् अमृतप्रसाद आचार्य, कवि तथा अन्वेषक अनिल पौडेल, मिश्र बैजयन्ती, डा. उद्धव पोखरेल, राजनीतिक तथा शैक्षिक व्यक्तित्व विनोद भण्डारी, ईरान राईलगायतका व्यक्तिहरूले कृतिकार विरही तथा उहाँले सुरु गरेको अनुसन्धान अक्षयकोष अभियानलाई शुभकामना दिएका थिए ।
पठन संस्कृति हराउँदै गइरहेको त्यसमा नेपाली साहित्यका कृतिहरू सित्तैमा उपहार स्वरूप बाँडेर सक्नुपर्ने बाध्यता भइरहेको बेलामा बेलबारीबाट चलाएको यस अभियानले नेपाली साहित्यका पाठकमा एउटा आशाको सञ्चार गरेको धेरैको बुझाइ रहेको छ । धेरैले यस अभियानको खुलेर प्रशंसा गरेका छन् ।
विरहीका अनुसार ‘उपद्रष्टा हर्कमान तामाङ’ अनुसन्धानपरक (शोधमूलक) कृति हो । अग्रज स्रष्टा तामाङको जीवनीलाई आधार बनाएर उक्त पुस्तक तयार गरिएको विरहीले जानकारी दिए। उनले पहिलो चरणमा बेलबारी बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गर्ने र त्यसको ब्याजबाट अनुसन्धान गर्ने कम्तीमा एक जना विद्यार्थीलाई पुरस्कृत गरिने र दोस्रो चरणमा भने राष्ट्रियस्तरका अनुसन्धातालाई पुरस्कृत गर्ने गरी कोष तयार पारिने उल्लेख गरे।
राजनीतिक रूपमा सफल भएपनि पारिवारिक रूपमा भोग्नु परेका समस्याका बारेमा समेत पुस्तकमा उल्लेख गरिएको विरहीले बताए ।
२००८ साउन २५ गते भोजपुरको बोखिममा जन्मिएका तामाङको बाल्यकाल भारतमा बित्यो । उनले पढ्दै राजनीति शुरू गरेकाे उल्लेख गरिएको छ । दार्जिलिङमा बसेर राजनीतिक चासो लिएर उनले विद्यार्थी राजनीति गरेका थिए। तामाङले २०४८, २०५६ सालको आमनिर्वाचन र २०५१ सालको उपनिर्वाचनमा मोरङको साविक ४ नम्बर क्षेत्रबाट चुनाव जितेका थिए।




