लेटाङ । डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले दक्षिण कोरियामा वैदेशिक रोजगारिका क्रममा ज्यान गुमाएका मोरङको लेटाङ ९ जाँतेका रोहित मगरको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
डाइनामिक मोरङ कमिटीमा आवद्ध युवाहरुले आज आइतबार लेटाङ ९ जाँतेस्थित मगर परिवारको घरमै पुगेर परिवारजनलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन् । लेटाङ नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडाको रोहवरमा ११ लाख ९६ हजार ७ सय ८२ कोरिय वन अर्थात १ लाख १८ हजार ३ सय ५१ नेपाली रुपैयाँ मृतक मगरका बाबु आमालाई हस्तान्तरण गरिएको हो ।
सो अवसरमा डाइनामिक मोरङ कमिटीका पूर्व वरिष्ठ उपाध्यक्ष सन्तोष तिम्सिना, पूर्वसचिव श्याम भट्टराई, पूर्वकोषाध्यक्ष हेमन्त खतिवडा, पूर्वसदस्य प्रकाश बराल, प्रेम बस्नेतका साथै पत्रकार रेवती निरौलाको उपस्थिति रहेको थियो । डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले कोरियामै समस्यामा परेका नेपालीहरुदेखि नेपालमा समेत आर्थिक रुपमा विपन्न व्यक्तिहरुलाई सहयोग गर्दै आएको पूर्वसचिव श्याम भट्टराईले जानकारी दिनुभयो । डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाका वर्तमान अध्यक्ष विश्वास रायमाझी र प्रकाश थापा लगायतको अगुवाईमा कोरियामै काम गरिरहेका नेपालीहरुबाट सहयोग संकलन गरि पीडित परिवारलाई सहयोग उपलब्ध गराएको पूर्वसचिव भट्टराईको भनाइ छ । सो अवसरमा लेटाङ ९ का वडाध्यक्ष नन्द प्रसाद खतिवडा र दिवंगत रोहित मगरका बाबु इन्द्र मगरले समस्यामा परेका बेला सहयोग उपलब्ध गराएकोमा डाइनामिक मोरङ कमिटीलाई धन्यवाद व्यक्त गर्नुभयो । करिव १० महिना अघि बैदेशिक रोजगारीका क्रममा कोरिया गएका २४ वर्षिय रोहितको करिव १ महिना अगाडी कोरियामै उपचारका क्रममा निधन भएको थियो । उनको शव करिव १० दिनपछि नेपाल ल्याएर धार्मिक परम्परा अनुशार अन्त्येष्टि गरिएको थियो ।