कोशी प्रदेश फिचर समाचार

कोशीमा एक हजार युवालाई रोजगारी दिने गरी सम्झौता

विराटचाेक: निक्षेप तथा कर्जा सुरक्षण कोष र कोशी प्रदेश सरकारबीच विभिन्न उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने विषयको समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यालयका उपसचिव अर्जुनकुमार निरौलाले उक्त सहमति पत्रमा हस्ताक्षर गरे। यो समझदारीले कोशी प्रदेशका नागरिकलाई उद्यमशीलताको विकास र रोजगार सिर्जना गर्न सहयोग पुग्ने बताइएको छ।

प्रदेश सरकारको योजना अनुसार कक्षा १२ उत्तीर्ण करिब एक हजार युवालाई तालीम दिई यसै वर्ष अनलाइन रोजगारी दिइनेछ।

समझदारी पत्रमा उल्लेख भए अनुसार यसले बैंक तथा वित्तीय संस्थालाई सर्वसुलभ कर्जा प्रवाह गर्न प्रोत्साहित गर्नेछ।

मुख्यमन्त्री कार्कीले यो समझदारीले प्रदेशमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनका अनुसार नयाँ समझदारीका साथ अघि बढ्दा प्रदेशको विकास र रोजगारीमा समेत टेवा पुग्नेछ।