फिचर मनोरंजन/कला साहित्य समाचार

कोशी प्रदेशमा चलचित्र महोत्सव हुँदै, बिर्तामोडमा भव्य उद्घाटनको तयारी

बिर्तामोड । कोशी प्रदेशमा पहिलोपटक चलचित्र महोत्सव २०८१ हुने भएको छ । कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको प्रवर्धन गर्ने उद्देश्यसाथ महोत्सव हुन लागेको हो ।

झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिइएको हो । महोत्सवको आयोजना आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले गरेको हो । महोत्सवको व्यवस्थापनको जिम्मा पाएको नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अनुसार महोत्सव यही जेठ ६ गतेदेखि ११ गतेसम्म हुनेछ ।

कोशी प्रदेशमा चलचित्र क्षेत्रमा लगानी वृद्धि एवम् चलचित्र क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको विषयमा जानकारी दिने उद्देश्यले आयोजना हुने महोत्सवको समापन विराटनगरमा हुने महासचिव रमेश तिवारीले जानकारी दिनुभयो ।महोत्सव अवधिभर विभिन्न चलचित्रहरुको प्रर्दशन र चलचित्र सम्बन्धि कार्यशाला समेत संचालन गरिने बताइएको छ । महोत्सवमा ख्यातिप्राप्त कलाकार तथा चलचित्रकर्मीहरुको सहभागिता रहने छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिर्तामोडमा भव्य उद्घाटन गर्ने महोत्सवको तयारी भइरहेको अध्यक्ष केवल तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न जाति तथा समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ।उत्घाटन कार्यक्रमको संचालन कलाकार तथा संचारकर्मी दिनेश डिसीले गर्नुहुनेछ । चलचित्रले प्रदेशलाई पर्यटनसँग जोडेर ठुलो आम्दानीको स्रोतको रुपमा विकास गरेर आर्थिक रुपमा मजबुत बनाउन सक्ने महोत्सवले विश्वास लिएको छ ।

चलचित्र क्षेत्रमा विकास भएका नयाँ प्रविधि, सिर्जना, सीप, कला र शैलीका बारेमा अध्ययन तथा अनुसन्धान गर्न, विभिन्न मुलुकबीच चलचित्रको माध्यमबाट सांस्कृतिक क्षेत्रको अनुभव आदानप्रसाद गर्न वा संयुक्त रुपमा लगानी गरी चलचित्र निर्माण गर्ने काममा उत्प्रेरित गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

पत्रकार सम्मेलनमा विभिन्न विधामा चलचित्र निर्माणमा सक्रिय रहनुभएका चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।