बिराटचोक – मोरङको सुन्दरहरैंचामा पहिलो पटक वडास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा सुकुना बहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिताको आयोजना गरिएको हो।

खेलको उद्घाटन गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईंले क्रिकेट खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए। उनले भने, “क्रिकेट अहिले राष्ट्रलाई चिनाउने प्रमुख माध्यम बनेको छ। हाम्रो नगरका खेलाडी र क्लबको विकासमा पालिका प्रतिबद्ध छ। यसैका लागि नगर खेलकुद समिति गठन गरिएको हो।”

उनले विगतका वर्षमा क्रिकेट खेलका लागि बजेट व्यवस्था नभएको उल्लेख गर्दै चालु आर्थिक वर्षदेखि बजेट विनियोजन गरिएको जानकारी दिए। साथै नगरपालिकास्तरीय एउटा क्रिकेट टिम तयार गर्ने योजना रहेको बताए।
आजको खेलमा वडा नम्बर ७ ले वडा नम्बर ५ लाई ५ विकेटले पराजित गर्यो। यस खेलमा कपिल मगर उत्कृष्ट खेलाडी घोषित भए। त्यसैगरी वडा नम्बर ९ ले वडा नम्बर १२ ‘ए’ लाई ३ विकेटले हरायो, जसमा अनोज पाठक उत्कृष्ट खेलाडी बने।

क्लबका अध्यक्ष प्रमेन्द्र के.सी.का अनुसार प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन्। प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र पाउनेछ। उत्कृष्ट खेलाडीलाई नगद २ प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता ११ गतेसम्म सञ्चालन हुनेछ।
