काठमाडौंः ‘खोटाङ प्रतिभा–२०८०’को फाइनलमा गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन राई र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता श्रेष्ठ विजयी भएका छन् । खोटाङ कलाकार समाजको आयोजना र खोटाङ सेवा समाज बेलायतको सह–आयोजनामा काठमाडौँको राष्ट्रिय नाचघरमा आयोजित फाइनलमा नौ–नौ जना प्रतिस्पर्धीलाई उनीहरुले पछि पारेका हुन् ।
प्रतियोगितामा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोस्रो र वराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार तेस्रो भएका छन् । नृत्यतर्फ वराहपोखरी गाउँपालिकाका सुवास विश्वकर्मा दोस्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी मनिता राई तेस्रो भएका छन् ।
लुकेर रहेका प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेलाई नगद दुई लाख दुई हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । विजेता दुई प्रतिभालाई बेलायतमा हुने कार्यक्रममा लगिने पनि आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक रुपकुमार राईले जानकारी दिए ।
त्यस्तै दोस्रो र तेस्रो हुने प्रतिभालाई क्रमशः नगद एक लाख एक हजार र ५१ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताका विजयी छ जना प्रतिभालाई नगद पुरस्कारसैगै गीत रेकर्डिङ तथा म्युजिक भिडियो खेल्ने अवसर दिइने भएको छ । प्रतियोगितामा सहभागी बाँकी १४ प्रतिभालाई प्रोत्साहनस्वरुप सहभागिताको प्रमाणपत्रका साथै यातायात खर्चको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको निर्णायकहरु खोटाङ जिल्ला बाहिरका स्रष्टाहरु राखिएको थियो । गायकतर्फको निर्णायकहरुमा वरिष्ठ गायक, सङ्गीतकार तथा नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राई, वरिष्ठ गायिका कुन्ती मोक्त्तान र वरिष्ठ सङ्गीतकार तथा रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारी रहेका थिए । त्यस्तै नृत्यतर्फ वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ नृत्य निर्देशक महेश गदार र वरिष्ठ नृत्य निर्देशक रोहिया महर्जन निर्णायक रहेका थिए ।
‘नयाँ प्रतिभालाई प्रोत्साहन, पुराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सुसंस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरेका थिए । कार्यक्रममा खोटाङका सांसद, पूर्व मन्त्रीहरु र विभिन्न पेशा ब्यावसायमा आवद्ध प्रतिष्ठित व्यक्ति सहभागी रहेका थिए ।
खोटाङ प्रतिभा–२०८० छनोट प्रतियोगिताका लागि जिल्लाका १० वटै स्थानीय तहबाट गायन तथा नृत्य विधामा एक–एकजना गरी २० जना सहभागी थिए ।
जिल्लाकोे प्रत्येक पालिकाबाट गायन तथा नृत्य विधामा तीन–तीनजना प्रतिभा छनोट गरिएको थियो । पालिकास्तरीय प्रतियोगिताबाट दुई विधामा ३०–३० प्रतिभा छनोट गरिए पनि काठमाडौँमा आयोजना गरिएको फाइनल प्रतिस्पर्धामा दुवै विधामा प्रथम भएका एक–एकजना प्रतिभालाई मात्र सहभागी गराइएको आयोजकले जनाएको छ ।
खोटाङ घर भई काठमाडौँलाई कार्यक्षेत्र बनाएर गीत–सङ्गीतलाई आफ्नो पेसाका रूपमा अँगालेका खोटाङ्गे कलाकारहरुले २०७७ मा खोटाङ कलाकार समाज’ गठन गरेका थिए ।





Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.