विराटचाेक: माेरङकाे सुन्दरहरैंचा नगरपालिकामा युवाहरुको अन्तर्निहित प्रतिभालाई तालिमका माध्यमद्वारा प्रस्फुटन गराई व्यक्तित्व विकासमा काम गर्दै आइरहेको गछिया जेसीजको सचिवालय तथा बहुआयामिक तालिम हल गछिया स्थित आइतबारेमा बन्ने भएको छ।
२०७२ सालमा साविक कोशीहरैँचा र सुन्दरदुलारी मिलेर बनेको सुन्दरहरैचा नगरपालिकामा हाल दुई वटा जेसीज सक्रिय छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट निकासा गरी पठाएसँगै नगरपालिकाको समेत थप सहयोगमा बनाउन टेन्डर आह्वान भएको हो।
संस्थाका अध्यक्ष ध्रुव निरौलाका अनुसार नगरपालिकाको स्वामित्वमा रहेको जग्गा संस्थासँग भएको द्विपक्षीय सम्झौता अनुसार पालिकाले जग्गा उपलब्ध गराएपछि भवन निर्माणको प्रक्रिया सुरु भएको हो। सचिवालय सहितको उक्त भवन बहुआयामिक रहेको उनले बताए।
केही दिन अघि इटहरीमा सम्पन्न नेपाल जेसीजको केन्द्रीय महाधिवेशनकाे सन्दर्भमा नेपाल जेसीज बोर्ड अफ ट्रस्टिजका अध्यक्ष उत्तम चापागाईंले गछिया आई बन्न लागेकाे भवन निर्माण स्थल अवलोकन गरी यस्ता प्रकृतिका भवन समाजकाे गहनाको रूपमा रहने बताए । साथै सबैले यसमा हातेमालो गरी निर्माण गर्नुपर्ने बताउँदै केन्द्रीय कार्यालयबाट समेत सहयोग हुने बताए।
यस क्षेत्रमा भवन निर्माण भएसँगै यस आसपासका जनता समेत हर्षित भएका छन् स्थानीय समाजसेवी राजेन्द्र कार्कीको भनाइ छ।
सन् २०१४ मा स्थापना भएको गछिया जेसीजले लामो समयको प्रतीक्षा र यस क्षेत्रका व्यक्तिहरूको सकारात्मक सहयोगका कारण जेसीज सचिवालय बनाउन सक्ने अवस्था निर्माण भएको र भवनको डिजाइन, डी.पी.आर. लगायतका काम सम्पन्न भएसँगै एक वर्षभित्र भवन निर्माण गरिसक्ने निर्माण समितिका सदस्य नविल बरालको भनाइ रहेको छ।