विराटचाेक: मोरङको सुन्दरहरैंचा नगरपालिका-१ निवासी बेद बहादुर भुजेलको जीवन वैदेशिक रोजगारीको चपेटामा परेर नराम्ररी प्रभावित भएको छ। भुजेलले विदेशमा भोग्नुपरेका कष्ट र स्वदेश फर्केपछिको चुनौतीपूर्ण जीवनको कहालिलाग्दो छ ।
पैसा कमाउने सपना बोकेर साउदी अरब पुगेका भुजेलले त्यहाँको मरुभूमिमा गिट्टी मिक्स गर्ने मेसिनमा काम गर्थे। एक दिन मेसिन बन्द गर्ने क्रममा दुर्घटनामा परी गम्भीर घाइते भए। चार महिनासम्म अचेत अवस्थामा अस्पतालमा रहनुपर्यो। त्यसपछि नेपाली दुतावासकाे सेन्टरमा २ वर्ष बसेपछि नेपाल

भुजेलको दुर्भाग्य के थियो भने उनी अवैध रूपमा काम गरिरहेका थिए। त्यसैले कम्पनीले उनको उपचार खर्च बेहोरेन। अस्पतालमा २ करोड ५७ लाख रुपैयाँ तिर्नुपर्ने भएपछि उनी नेपाल फर्कन नै नसक्ने अवस्थामा पुगे। तत्कालीन नगरप्रमुख शिवप्रसाद ढकालको पहलमा मोरङ-सुनसरी सेवा समाज उर्लाबारीका युवा कुमार कार्की र गैर आवासीय नेपाली संघ (एनआरएन) का प्रतिनिधिहरूको सहयोगमा मात्र स्वदेश फर्किन सफल भएकाे उनी बताउछन् ।
स्वदेश फर्केपछि ३७ वर्षीय भुजेलको जीवन झनै कष्टकर बन्यो। जीवनभर काम गर्न नसक्ने गरी अशक्त शरीर लिएर फर्किएका उनलाई श्रीमतीले छोरासहित छोडिन्। प्रेम विवाह गरेकी श्रीमतीबाट यस्तो व्यवहार पाएपछि उनी मानसिक रूपमा पनि भाँचिए। अहिले उनी एक्लै बस्न बाध्य छन्।

वृद्ध आमा लक्ष्मी भुजेलले छोराको हेरचाह गरिरहेकी छिन्। तर परिवारमा कसैको रोजगारी नभएकाले दैनिक जीवनयापन नै कठिन बनेको छ। सरकारी सहयोगको आशा गरेका भुजेलले नगरपालिकाबाट अपाङ्गता परिचयपत्र (रातो कार्ड) समेत पाउन सकेका छैनन्।
बैसाखीको सहारामा घर वरिपरि हिँड्न सक्ने भुजेल आफ्नो पीडा यसरी व्यक्त गर्छन्, “गरी खान सकिँदैन, के गर्ने? अपाङ्ग भएर एक्लै बस्दाको पीडा कसले बुझ्छ?” उनकी आमा लक्ष्मी छोराको यस्तो अवस्था देख्दा आँसु खसाल्छिन् र चिन्तित स्वरमा भन्छिन्, “म मरेपछि यसलाई कसले हेर्छ?”
वैदेशिक रोजगारीको चपेटामा परेर थलिएको यो परिवारको दुःखद कथाले स्थानीय सरकारको ध्यानाकर्षण गराउनुपर्ने देखिन्छ। यस्ता परिवारहरूलाई सामाजिक सुरक्षा र पुनर्स्थापनाको उचित व्यवस्था गर्नु अत्यावश्यक छ।