सुन्दरहरैँचा/ सुन्दरहरैंचाको वडा नम्बर ७ गोठगाउँमा शनिबार नाटक ‘सट्टापट्टा’ मञ्चन गरिने भएको छ ।
शिल्पी थिएटर काठमाडौंले खाद्यका लागि कृषि अभियानसँगको सहकार्यमा निर्माण गरेको सो नाटक सामाजिक सेवाका लागि युवा अभियान नेपाल (वाइएसएस नेपाल) को सहजीकरणमा गोठगाउँमा मञ्चन हुन लागेको हो । कृषि र स्वास्थ्यसँग सम्बन्धित नाटक भएको हुनाले स्थानीयको उल्लेख्य उपस्थिति हुने वाइएसएसका अध्यक्ष ज्ञाननाथ ढकालले बताए ।
शहरका मानिसले र मुख्य चोकका मानिसले मात्रै नाटक हेर्ने अवसर पाउने गरेकाले गाउँका मानिसलाई पनि निःशुल्क नाटक हेर्ने व्यवस्था गर्न शिल्पी लागिपरेको शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजले बताए । लामो समयदेखि गोठगाउँमा नाटक मञ्चन गर्न खोजिरहेको भए पनि मौका नमिलिरहेको समयमा सो मौका मिल्दा आफूलाई खुशी लागेको घिमिरेले बताए ।