काठमाडौंः गीतकार संघ नेपालले आज गीतकार उपचार कोष सहयोगार्थ ‘गीतकार साङ्गीतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ । शुक्रवार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको संघका अध्यक्ष वसन्त वित्यासी थापाले बताएका छन् ।
सो साङ्गीतिक कार्यक्रममा रत्नशम्शेर थापाद्वारा रचित दुई गीत जाग लम्क चम्क हे …., ए कान्छा ठट्टैमा…., किरण खरेलको वसन्त नै बस्न खोज्छ यहाँ…, यादव खरेलको गैरीखेतको …., भैरवनाथ रिमाल ‘कदम’को ‘जुन फूल मैले…, ‘उदास मेरो जीवन… ’ प्रस्तुत गरिने भएको छ ।
यस्तै नगेन्द्र थापाको चिनारी हाम्रो…, राजेन्द्र थापाको पोहोर साल खुसी फाट्दा…, प्रेमविनोद नन्दनको ज्यानको माया नैना रेशम…, विश्व बल्लभको भाग्यले खुसी…, शिवशंकर थापाको भन्थिन् मेरी उनी…, दुर्गालाल श्रेष्ठको फूलको आँखामा फूलै संसार… बोलका गीतहरु प्रस्तुत गरिने भएको छ ।
गीतकार संघ नेपालले नेपाली गीत लेखनमा पुर्याएको योगदानलाई कदर गरी गीतकार संघ नेपालले राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित अग्रज गीतकारहरुको चर्चित गीत यो कार्यक्रममा प्रस्तुत गर्ने भएको बताइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख अतिथ्यतामा सम्पन्न हुने सांगीतिक कार्यक्रममा अग्रज गीतकारहरुका गीतहरु प्रत्यक्ष बाजासहित प्रस्तुत गरिने पनि अध्यक्ष थापाले बताए । ती गीतहरु लोकप्रिय तथा प्रतिभाशाली गायक गायिकाहरुले गाउने छन् ।
‘नेपाली गीति लेखनमा योगदान पुर्याउने गीतकारहरुको सम्मान तथा गीतकार उपचार कोष सहयोगार्थ आयोजना हुने उक्त साङ्गीतिक कार्यक्रममा नेपाली गीत सङ्गीतको क्षेत्रमा आवद्ध हुनुहुने विभिन्न सरकारी निकाय, संघसंस्था, गीत, संगीतप्रेमीहरु तथा संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई आफ्नो स्वेच्छाले टिकट खरिद गर्न अनुरोध गरिएको संघका महासचिव टीका राई (शिव)ले बताएका छन् ।




