लेटाङ । मोरङ क्षेत्र नम्बर १ का पूर्वसांसद तथा फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडा लेटाङ ९ जाँतेस्थित गणेश मन्दिर परिसरमा रहेको श्रीगणेश गौशालाको आयोजनामा सञ्चालिन श्रीगणेश पुराण तथा सुरभी महायज्ञमा सहभागी हुनु भएको छ ।
चौथो दिनको रात्रिकालिन कार्यक्रममा सहभागी हुनु भएका उम्मेदवार खतिवडाले आफ्नो मन्तव्य राख्दै यस क्षेत्रको विकासका लागि आफुले गरेका कामहरु बारे जानकारी गराउनुभयो ।
संसदमा आफुले सम्बोधन गरेको विषय बारेको अडियो सुनाउँदै उहाँले संसदको पहिलो सम्बोधनमै मदन भण्डारी राजमार्गको विषय उठान गरेकोमा सो राजमार्ग यसक्षेत्रमा निर्माण सम्पन्न हुने चरणमा रहेको बताउनुभयो ।
यस्तै पहिलो दिनकै सम्बोधनमा उठाएको तमोर चिसाङ डाइभर्सनको काम पनि डिपिआर निर्माणको चरणमा रहेको जानकारी दिनुभयो ।
कपितय राजनीतिक दलका नेताहरुले गौहत्या गर्न पाउनुपर्छ भनेको सन्दर्भ जोड्दै उहाँले गौवध अपराध भएको र हाम्रो मुलुकमा संभव नरहेको बताउनुभयो । पूर्वसांसद खतिवडाले सो अवसरमा महात्म्य श्रवण गर्नुका साथै भजनमा नृत्य समेत गरेर भक्तिभाव प्रकट गर्नुभयो ।
उहाँले श्रीगणेश गौशालाको विकासका लागि आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै महायज्ञ सञ्चालनका लागि रु १० हजार रुपैयाँ आर्थिक सहयोग पनि गर्नुभयो




