विराटचाेक । मोरङको ग्रामथान गाउँपालिका तीव्र गतिको स्कुटरले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ ।
सोमबार बेलुका ७:५० बजेतिर ग्रामथान-५ ककरमाडीमा भएको दुर्घटनामा सोही ठाउँकी ६५ वर्षीया रुशनीदेवी चौधरीको मृत्यु भएको हो ।
घिनाघाट सडकखण्डमा हरैंचाबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प ५२२२ नम्बरको स्कुटरले पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्दैगरेकी चौधरीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
कोशी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हो ।
स्कुटर चालक ग्रामथान-७ का ३१ वर्षीय भाइराजा सरदार पनि घाइते छन् । उनको टाउको, निधारमा चोट लागेको छ ।
अवस्था सामान्य रहेका उनको प्रहरीको निगरानीमा विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ ।
स्कुटर भने प्रहरी चौकी तेतरियाको नियन्त्रणमा रहेको ट्राफिक प्रहरीले जनाएको छ ।