धरानको पहिचान बनेको भानुचोकस्थित घण्टाघर निर्माण कालदेखि नै दैनिक ज्यालादारीमा कार्यरत दुई मजदुरलाई निष्कासन गरेको विरोधमा तालाबन्दी गरिएको छ।
विभिन्न ट्रेड युनियनहरु मिलेर गठन गरेको संयुक्त संघर्ष समितिले आइतबार घण्टाघरमा तालाबन्दी गरेको हो। विना कारण निष्काशनमा परेका दुई मजदुरहरुलाई पुर्नवहाली नगरेसम्म तालाबन्दी जारी रहने संघर्ष समितिका संयोजक शम्सेर बर्देवाले बताए।
तालाबन्दी गर्ने क्रममा नगर प्रहरीसँग केही बेर घम्साघम्सीसमेत परेको थियो। मुलगेटमा नै तालाबन्दी गरिएपछि घण्टाघर भित्र प्रवेश गर्ने र टुप्पोमा पुगेर धरान बजार हेर्न चाहनेहरुलाई वाधा पुगेको छ।
घण्टाघरमा कार्यरत नरबहादुर लिम्बु (राजा) र प्रकाश राईलाई धरान उपमहानगरपालिकाले कामबाट निकालेको थियो। दुवैलाई कामबाट हटाएर मेयर साम्पाङले आफ्नै ज्वाइँ र अर्का आफन्त पर्ने व्यक्तिलाई केही महिनादेखि जागिर खुवाएको खुलेपछि विरोध भइरहेको छ।
आफन्तलाई सुटुक्क जागिर लगाएको र उनीहरुलाई तलब खुवाउनकै लागि लामो समयदेखि कार्यरत मजदुरहरुलाई हटाएको मेयर साम्पाङमाथि आरोप छ।