फिचर समाचार

चतराधाममा लाग्ने बाह्रवर्षे महाकुम्भ मेलाकाे तयारी पुरा, २७ गते राष्ट्रपतिले उद्घाटन गर्ने 

विराटचाेक: सुनसरीको चतरामा चैत २७ देखि सुरु हुने महाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। महाकुम्भ मेला चैत  २७ गतेदेखि वैशाख २८ गतेसम्म   महिना दिनसम्म चल्ने छ।

महाकुम्भ मेला हवन कुन्ड, आमन्त्रित पाहुना गुरूहरूकाे निवास कुटी,  स्नान स्थल निर्माणसहित सम्पूर्ण व्यवस्थापन पूरा भएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

महाकुम्भमा आउने भक्तजनका लागि पाँचवटा स्थानमा स्नान स्थल निर्माणसँगै सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिने महाकुम्भ मेला मूल आयोजक समितिका सहसंयोजक बराह क्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बताए । उनका अनुसार भक्तजनका लागि खाने, बाहिरबाट आउने पाहुनालाई बस्ने र बिरामी हुँदा उपचार व्यवस्था गरिसकिएको छ। कुनै आपत पर्दा २४ सै घन्टा दमकल र दुईवटा एम्बुलेन्स व्यवस्था पनि गरिएको छ।

कुम्भ मेलाका परिकल्पनाकार नेपालका प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यका अनुसार मेलामा अवलाेकन गर्न  विदेश भारत, भुटान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट सन्त, महन्त एवम्  धार्मिक अगुवाको उल्लेखीय सहभागिता रहने छ।

 नेपालसहित अन्य मुलुक गरी दुई करोड हाराहारी भक्तजन आउने छन्। कुम्भ मेला मुलुककै आस्थाको केन्द्र भएकाले पनि तीनै तहका सरकार अहोरात्र खटिएको जगत्गुरुले बताए।

 कुम्भकाे उद्घाटन राष्ट्रपति रामचन्द्र पाैडेलले २७ गते गर्ने छन् भने कार्यक्रममा प्रधानमन्त्री, प्रधान न्यायाधीश,  मुख्यमन्त्री, सुरक्षा निकायका प्रमुख,  विभिन्न निकायका प्रमुख, राजनीतिक दलका प्रमुख लगायतको सहभागीता रहने समेत  जनाईएकाे छ ।