वराहक्षेत्र नगरपालिकाले वडा नं. १ र २ लाई लक्षित गरेर वडा नं १ को वडा कार्यालयमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ। वराहक्षेत्र नगरपालिकाले रामलाल गोल्छा आँखा अस्पताल विराटनगर सँग सहकार्य गरेर उक्त शिविर आयोजना गरेको हो ।
नगरपालिकाका सामाजिक बिकाश शाखाका प्रमुख अरुण मेहताका अनुसार १ सय २९ जना सेवाग्राहीहरूले शिविरमा आएर सेवा लिएका थिए । ती मध्ये ३३ जनाको आँखामा मोतिया बिन्दु रोग पहिचान भएको छ ।
उनीहरूको निःशुल्क शल्यक्रिया गरिने र अप्रेसनको लागि २५ जनालाई अस्पताल लगिएको छ । बाँकी १३ जना प्रेसर, सुगर र मुटुको समस्या भएकाहरू तथा पारिवारिक कारणले आज जान नसकेको र उनीहरूको पनि निःशुल्क शल्यक्रिया गरिने मेहताले जानकारी दिए ।
शिविरमा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका दृष्टि विज्ञ डाक्टर एवम् स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।
नगरपालिकाले निःशुल्क आँखा जाँच शिविर आयोजना गर्ने योजना अनुसार सिबिर सञ्चालन भएको र नगरका अन्य स्थानमा पनि उक्त : शुल्क आँखा जाँच स्वास्थ्य शिविर गरिने नगर प्रमुख रमेश कार्कीले बताए ।