फिचर शिक्षा समाचार स्थानिय

छात्रासंग उपप्रमुख कार्यक्रम शुरू, राखियो सुझाव पेटिका, हरेक महिना खाेलिने

विराटचाेक:  सुन्दरहरैँचा नगरपालिकाले विद्यालयमा “ छात्रासँग उपप्रमुख” कार्यक्रम शुरू गरेको छ । साे कार्यक्रम अन्तर्गत विद्यालयमा सुझाव पेटिका राख्न थालिएको हाे ।

मङ्गलबार वडा नम्बर ३ मा रहेकाे श्री जनता मा.वि. र श्रीखण्ड मा.वि.मा नगर उपप्रमुख अकली चाैधरीले सुझाव पेटिका राख्नुभएको हाे । विद्यालयमा देखिएका समस्यालाई समाधान गर्न गाेप्य सूचनाकाे मुख्य पहुँच सबैलाई दिलाउन सुझाव पेटिका राखिएको उपप्रमुख चाैधरीले बताउनुभयो । 

” विशेषगरी छात्राहरूलाई हुने दुर्ववहार, हिंसा अरू कुनै प्रकारका समस्या परेर कसैलाई भन्न नसकेको अवस्थामा सुझाव पेटिकामा आफ्ना कुराहरू राखेर व्यक्त गर्न सक्ने छन् । यहाँ अन्य विद्यार्थीले विद्यालयसंग सम्बन्धित कुराहरू राख्न सक्ने र त्यसलाई नगरमा लगेर अध्ययन गरि समाधान गर्न र बुझ्न याे राखिएको हाे” उपप्रमुख चाैधरीले बताउनुभयो ।  यसले विद्यालय सुधारमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

छात्रासंग उपप्रमुख कार्यक्रम अन्तर्गत विद्यार्थीहरूका समस्या, समाधानका उपाय, हिंसा कसरी हुन्छ, राम्रो छुवाई र नराम्रो छुवाई, सामाजिक संजालकाे गलत प्रयाेगले निम्तिने समस्या, व्यक्तिगत घटना दर्ता लगायत विषयमा प्रशिक्षण गरिएको छ । 

कार्यक्रममा शिक्षा शाखा प्रमुख लिलादेवी ओझाले परिवार, समाज र विद्यालयमा थाहा नपाई कुनै हिंसा भएको हुन सक्ने भन्दै कुन कुन अवस्थामा हिंसा हुन्छन् र त्यसलाई कसरी प्रतिकार गर्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियाे । 

यस्तै समाजमा हुने विभिन्न सामाजिक विभेदका विषयमा सामाजिक विकास शाखा अधिकृत छाैटाैँ अनिल पाेख्रेलले जानकारी गराउनुभयाे । उहाँले छात्राहरूलाई राम्रो छुवाई कुन अवस्थामा हुन्छ,  नराम्रो छुवाई कुन अवस्थामा हुन्छ र कस्तो अवस्थालाई हिंसा मान्नुपर्छ भन्ने कुराका विषयमा रहेर सहजीकरण गर्नुभयो । 

कार्यक्रममा उजुरी प्रशासक निरज न्याैपानेले व्यक्तिगत घटना दर्ता र सामाजिक सन्जालकाे गलत प्रयाेगले हुने समस्याका बारेमा भिडियो मार्फत प्रस्तुती गर्नुभएको थियाे । यसैगरी छलफलमा  सहभागीले  आफ्ना गुनासो सुझावलाई गाेप्य रूपमा एउटा पेटिकामा राखेका थिए ।

विद्यालयमा हुने यस्ता कार्यक्रमहरुले  आफ्नो हौसला बढेको सहभागी विद्यार्थीले बताएका छन् । याे कार्यक्रममा विद्यार्थीले  समस्याहरू  खुलेर राखेका थिए । कार्यक्रमबाट घर, परिवार र समाजमा हुने यस्तो हिंसाबाट बच्न र प्रतिकार गर्न सक्नुकासाथै शिक्षिका र अभिभावकलाई भन्न सक्ने भएको बताए ।

कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईले याेग्य नागरिक बनाउन अहिलेकाे पुस्तालाई सकारात्मक विचार दिन याे कार्यक्रम ल्याईएकाे बताउनुभयो । छात्रामाथि हुने दुर्ववहार बन्द गर्नु नै याे कार्यक्रमकाे उदेश्य रहेकाे समेत बताउनुभयो ।

याे कार्यक्रमले विद्यार्थीको मनोबल बढ्नुका साथै विद्यालयको सर्वाङ्गीण विकासमा टेवा पुग्ने श्रीखण्ड माविका   प्रधानाध्यापक घनश्याम भट्टराईले बताउनुभयाे । कार्यक्रममा कक्षा ७,८ र ९ का विद्यार्थीकाे सहभागीता रहेको थिए भने उपप्रमुख चाैधरीकाे अध्यक्षतामा भएको थियो ।