कोशी प्रदेश जीवनशैली फिचर विचार विचार शिक्षा समाचार स्थानिय

छोराको उमेरसमूहका साथीसँग बसेर उच्च शिक्षा पूरा गर्ने पाैडेल समाजकाे उदाहरण

विराटचोकः वि. सं. २०४३ सालमा झापाको गौरीगञ्जमा १५ जनाभन्दा बढी विद्यार्थीको एसएलसी परीक्षा रद्द भयो । सुपरिटेन्डेन्टसँग विवाद गर्ने सबैको परीक्षा रद्द हुने क्रममा सिम्बल नम्बर २४५२ की भगवती पौडेलसहित १५ जनाको परीक्षा रद्द भयो । परीक्षा रद्द भएपछि मानसिक तनावमा रहनुभएकी उहाँको परिवारमा विवाहको प्रस्ताव आयो र एक वर्षपछि २०४४ सालमा साबिक हरैंचा (हाल सुन्दरहरैंचा १) मा विवाह भयो ।

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरेकी उहाँले २०४६ सालदेखि नेपाली काङ्ग्रेसको राजनीति गर्नुभयो । नेपाली काङ्ग्रेसको भातृ संस्था महिला संघको केन्द्रीय सदस्य, तत्कालीन कोशीहरैंचा नगरपालिकाको नगर विकास अध्यक्षका साथै विभिन्न सहकारी संस्थामा आबद्ध हुँदै र नेतृत्व लिँदै उहाँ अघि बढिरहेको समयमा पढाइको विषय खड्किएको अनुभव लिनुभयो । श्री मावि मृगौलियाबाट खुला विद्यालयमार्फत् २०६० सालमा प्रथम श्रेणीमा एसएलसी पास गर्नुभएकी उहाँले सुकुना बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएको छ ।

छोराको उमेरसमूहका साथीसँग बसेर उच्च शिक्षा पूरा गर्नुभएकी उहाँ कम उमेरका व्यक्तिसँग बसेर पढ्दा कुनै ग्लानि नभएको बताउनुुहुन्छ । युवा विद्यार्थीको जोशले आफूलाई अध्ययनमा ऊर्जा थप्ने र उनीहरुले पनि अभिभावक पाएको महसुस गर्ने गरेको पाएको उहाँको अनुभव छ । ‘यो उमेरमा पनि यसरी आएर पढ्नुहुन्छ । हामीले पनि यो समयलाई खेर फाल्नुहुँदैन भन्ने कुरा गर्नुहुन्छ,’ कम उमेरकासँग पढ्दाको अनुभव साट्दै उहाँ भन्नुहुन्छ, ‘यसमा मलाई अत्यन्तै गौरव लाग्छ । कुनै ‘गिल्टी फिल’ पनि हँुदैन । यसैले म अगाडि बढेकोजस्तो लाग्छ ।’ आफूले अध्ययन गर्न थाल्दा सन्तानलाई पनि खुशी लागेको बताउन पनि उहाँले भुल्नुभएन ।

एउटा सहकारी संस्थाको तालीममा काठमाडौं गएर तालीम लिँदा आफ्नो परिचय दिने क्रममा आफूले एसएलसी पास गरेकी भनेर ढाँटेँपछि आफूलाई हीनताबोध भएको र त्यसपछि अब साँच्चै एसएलसी पास गर्नुपर्छ भन्ने लागेर पढाइ अघि बढाएको उहाँ बताउनुहुन्छ ।

त्यसपछि घरमा आएर अब म पढ्छु भनी श्रीमान्सँग भन्दा ‘पढ्नु नि त पढेर पास गर्नू । ९ कक्षादेखि पढ्नू…’ भनेर अलिकति बिझ्ने तरिकाले भनेपछि अलि इख लिएर खुला विद्यालयमा भर्ना भएर एसएलसी दिएको उहाँ निर्धक्क सुनाउनुहुन्छ । खुला विद्यालयमा भर्ना भएपछि परिवारबाट पनि राम्रो सहयोग पाए पनि गाउँका मान्छेले कुरा काट्न थाले । पढ्न थालेको थाहा पाउनेले ‘मर्ने बेलामा हरियो काँक्रो …’ भनी खिसी गर्न थाले । समाजसेवा र राजनीतिमा पनि लागेकी महिला भएकी हुनाले तालीम, मिटिङ या त्यस्तै अन्य काममा हिँडेको भनेर ढाँट्दै र बाटो परिवर्तन गर्दै विद्यालय जान थाल्नुभयो । तर जुन बाटोबाट जाँदा पनि गाउँलेले सोध्ने क्रम रोकिएन । बारम्बार झुट बोलिरहनुभन्दा एक घण्टा अघि नै विद्यालय जाने उहाँले निर्णय गर्नुभयो । खुला विद्यालयमा बिहान ६ बजेदेखि पढाइ हुन्थ्यो । उहाँको घरबाट विद्यालय पुग्न १ घण्टा पैदल हिँड्नुपथ्र्याे । बारम्बारका प्रश्नको सामना गर्न दिक्क लागेर उहाँ ५ बजे नै विद्यालय पुग्न थाल्नुभयो ।

एक दुइ जना महिला सत्तामा जाँदैमा समग्र महिलाको अवस्था राम्रो भएको भन्न नमिल्ने उहाँको तर्क छ । नारी दिवस औपचारिकताजस्तो मात्रै भएको र पुरानै अधिकार तथा माग अझै पनि माग्नुपर्ने अवस्था आउनु अनि महिला हिंसा दिनानुदिन बढिरहनुमा राज्यको फितलो कानुन नै प्रमुख रहेको उहाँको बुझाइ छ । दिनप्रतिदिन हिंसाका घटनाले प्रश्रय पाइरहँदा र हिंसाको उजुरी दिन जाँदा उजुरी नलिने र घटनालाई राजनीतिक रङ दिनुले महिला अधिकार नारामा मात्रै सीमित देखिएको उहाँको ठम्याइ छ ।

रेमिट्यान्सले देशको आर्थिक स्थिति मजबुत बनाए पनि देशको लागि दुर्भाग्यपूर्ण रहेको र महिलाले आफ्नो अधिकार मात्रै खोज्ने तर कर्तव्य भुल्ने गर्नाले परिवार तहसनहस हुने समस्या पनि बढिरहेको उहाँ बताउनुहुन्छ । विदेशबाट घर आउँदा सम्पत्ति र श्रीमती दुवै नहुँदा पुरुष हिंसा पनि समाजमा बढिरहेको पाएको उहाँको तर्क छ ।