फिचर समाचार स्थानिय

जङ्गली हात्तीको आक्रमणबाट सुन्दरहरैँचामा एक जनाको मृत्यु

विराटचोक : मोरङको सुन्दरहरैँचामा गएराति जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ।

सुन्दरहरैँचा नगरपालिका-८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

केही महिनायतादेखि सुन्दरहरैँचाका उत्तरी क्षेत्रमा हात्तीको आवागमन बढेको छ। गएराति १२:३० बजे घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी घिमिरेको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

बच्चासहित आएको माउ हात्तीले घिमिरेमाथि आक्रमण गरेको स्थानीयवासीले बताएका छन्। हात्तीको आक्रमणबाट घिमिरेको घटनास्थलमै मृत्यु भएको थियो। घरबाट भाग्न लाग्दा बलेसिमा रहेका घिमिरेलाई करेसा बारिमा लगेर मारेकाे स्थानीयले बताए ।

सुन्दरहरैँचा क्षेत्रमा हात्तीको गतिविधि दैनिक बढ्दै गएको छ। रातको समयमा हूलसहित गाउँतर्फ आउने, अन्नपात खाने, घर भत्काउने र मानिसमाथि आक्रमण गर्ने क्रम बढ्दै गएकाले स्थानीयवासी त्रसित भएका छन्। केही महिनाअघि मात्रै यसै क्षेत्रमा दुई जनाको ज्यान गइसकेको छ।