फिचर समाचार स्थानिय

जनप्रतिनिधिहरुलाई उद्घोषण तथा भाषणकला तालिम

लेटाङ /- लेटाङ नगरपालिकाले जनप्रतिनिधिहरुका लागि ३ दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । लेटाङ नगरपालिका वडा नम्बर ४ को सभाहलमा माघ २३ गते मंगलबारदेखि सुरु भएको ३ दिने तालिम बिहीबार सम्पन्न भएको हो ।

तालिमको समापन समारोहमा नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने लगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

मोरङ खबरका पत्रकार रेवती रमण निरौलाले सहजिकरण गर्नु भएको तालिममा लेटाङ नगरपालिकाका विभन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडासदस्यहरु गरि ३० जनाको सहभागिता रहेको थियो । तालिमको समापन समारोहमा प्रशीक्षार्थी जनप्रतिनिधिहरुले विभिन्न भूमिकामा मन्तव्य प्रस्तुत गरेका थिए ।

तालिममा सहभागी जनप्रतिनिधिहरुले तालिम निकै फलदायी रहेको भन्दै तालिम आयोजना गरेर नयाँ कुराहरु सिक्ने अवसर दिएकोमा नगरपालिकालाई धन्यवाद दिएका छन् । लेटाङ ९ का वडासदस्य गोपाल मगर, लेटाङ २ की वडासदस्य मिलमाया विसंखे, लेटाङ ६ की वडासदस्य तिलकुमारी नेपाली, कार्यपालिका सदस्य माया नेपाली, पुरनमाया राई र गीता मगर लगायतले जनप्रतिनिधिको रुपमा निर्वाचित भएपनि सभासमारोहहरुमा बोल्न समस्या हुने गरेको भन्दै तालिमबाट निकै फाइदा पुगेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठले जीवनमा सिक्ने क्रम सँधै चलिरहने भएकाले जनप्रतिनिधिहरु कुनै पनि कुरा सिक्नका लागि पछि पर्न नहुने बताउनुभयो ।

यस्तै लेटाङ नगरपालिकाका प्रमुख प्रशासकयि अधिकृत नारायण न्यौपानेले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उपयोग गर्न सकेमात्र तालिमको उपलब्धि हासिल हुने भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

तालिमको समापन समारोह लेटाङ ४ का वडासदस्य सक्षम सुब्बले सञ्चालन गर्नु भएको थियो । तालिम सञ्चालन भइरहँदा तालिममा सहभागी प्रशिक्षार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन समेत प्रदान गरेका थिए ।