विराटचाेक: विराटचोकमा हुन लागेको दोस्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता २०८१ ले मोरङको खेलकुद क्षेत्रमा नयाँ उत्साह ल्याउने अपेक्षा गरिएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ साउन १९ गते शनिबार सुन्दरहरैचा १२ स्थित सुबिजिमुर स्कुलको खेल मैदानमा यो प्रतियोगिता हुँदैछ।
राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति मोरङका अध्यक्ष इन्द्र बहादुर तामाङले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, १८ विद्यालयका ३५० भन्दा बढी खेलाडीहरू यस प्रतियोगितामा सहभागी हुनेछन्। महिला र पुरुष दुवै वर्गका खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनेछन्।
यस आयोजनाको मुख्य उद्देश्य स्थानीय स्तरमा तेक्वान्दो खेलको पहुँच बढाउनुका साथै खेलाडीहरू बीच आपसी भाइचारा कायम गर्नु रहेको छ। साथै, यस प्रतियोगिताले मोरङलाई राष्ट्रिय स्तरमा चिनाउन, युवाहरूमा अनुशासन र एकताको भावना जगाउन मद्दत पुर्याउने आशा गरिएको आयाेजकले जनाएको छ ।