झापा : झापा जिल्ला अदालतमा नयाँ प्रमुख न्यायाधीशको रूपमा उमेशप्रसाद लुइँटेल नियुक्त भएका छन्। उनले दुई वर्षको कार्यकाल पूरा गरेका पूर्व प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको स्थान लिएका हुन्।
आज एक औपचारिक कार्यक्रममा लुइँटेलले कार्यभार सम्हालेका छन्। कार्यक्रममा अदालतका अन्य न्यायाधीशहरू, श्रेस्तेदार र कर्मचारीहरूको उपस्थिति थियो।
नवनियुक्त प्रमुख न्यायाधीश लुइँटेलले अदालतको लक्ष्यबारे बोल्दै भने, “हाम्रो उद्देश्य अदालतबाट प्रवाह हुने सेवालाई अझ पारदर्शी, छिटोछरितो र जनमैत्री बनाउनु हो। यसले अदालतप्रति जनताको विश्वास बढाउनेछ।”
उनले अदालतको रणनीतिक योजना अनुसार कार्य गर्न र न्यायिक कामकारबाहीमा ढिलासुस्ती तथा पक्षपात हुन नदिन कर्मचारीहरूलाई निर्देशन समेत दिए।
न्यायाधीश तेजबहादुर खड्काले न्याय सम्पादनलाई प्रभावकारी बनाउन कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको बताए।
श्रेस्तेदार किरणकुमार सिंहले मुद्दाको बढ्दो संख्याका बाबजुद सीमित साधन र जनशक्तिले पनि गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाए।
अदालतले यस आर्थिक वर्षदेखि स्वचालित पेशी प्रणाली लागू गरेको छ र फरक मुद्दा व्यवस्थापन अनुसार मुद्दाहरूको वर्गीकरण गरिएको छ।
झापा जिल्ला अदालतमा नौ न्यायाधीशको दरबन्दी रहेकोमा हाल सात जना कार्यरत छन्। सामान्यतया न्यायाधीशहरूको सरुवा दुई वर्षमा हुने गर्दछ। यसै क्रममा नवआगन्तुक न्यायाधीश महेन्द्रप्रसाद पोखरेललाई पनि स्वागत गरिएको छ।