कोशी प्रदेश फिचर समाचार स्थानिय

झापा जिल्ला अदालतमा थुनुवा कक्षको उद्घाटन

झापा:  भद्रपुर नगरपालिकाको सहयोगमा झापा जिल्ला अदालतमा निर्माण गरिएको थुनुवा कक्षको आज एक विशेष समारोह बिच उद्घाटन गरिएको छ।

झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोक कुमार बस्नेतको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला अदालतका न्यायाधीशहरू, भद्रपुर नगरपालिकाका प्रमुख तथा उपप्रमुख, जिल्ला सरकारी वकील कार्यालयका प्रमुख, प्रहरी कार्यालयका प्रतिनिधि लगायत अन्य पदाधिकारीहरू सहभागी थिए।

प्रमुख न्यायाधीश बस्नेत र नगर प्रमुख गणेश पोखरेलले संयुक्त रूपमा थुनुवा कक्षको उद्घाटन गर्नभएकाे हाे । कार्यक्रमको सञ्चालन अदालतको प्रशासन शाखाका अधिकृत रामचन्द्र बस्नेतले गर्नुभएकाे थियाे ।

प्रमुख न्यायाधीश बस्नेतका अनुसार, यो कक्ष मुद्दाको पुर्पक्षको क्रममा कारागारमा रहेका वा अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका व्यक्तिहरूलाई अदालतमा उपस्थित गराउँदा सुरक्षित रूपमा राख्नका लागि निर्माण गरिएको हो।

अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताए अनुसार, यस कक्षले थुनुवाहरूलाई आफन्तसँग छोटो भेटघाट र कुराकानी गर्ने अवसर पनि प्रदान गर्नेछ।

करिब ३० जना बस्न मिल्ने यो कक्षमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय र स्टेन फ्यान जस्ता सुविधाहरू छन्। भद्रपुर नगरपालिकाले  निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गरेको थियो ।