आर्थिक वर्ष २०८१/८२ देखि झापा जिल्ला अदालत सहित देशभरका अदालतहरूमा स्वचालित पेशी प्रणाली लागू भएको छ। यस सम्बन्धमा बार र बेन्च बीच अन्तरक्रिया बैठक सम्पन्न भएको छ।
प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको अध्यक्षतामा भएको बैठकमा अन्य न्यायाधीशहरू, श्रेस्तेदार, बार अध्यक्ष, उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ताहरूको उपस्थिति रहेको थियो।
प्रमुख न्यायाधीश बस्नेतले यो प्रणालीले मानवीय हस्तक्षेप कम गरी अदालतप्रति जनविश्वास बढाउने बताए। न्यायाधीश तेजबहादुर खड्काले मुद्दामा हुने चलखेल रोक्न र लामो समयसम्म पेशीमा नचढ्ने समस्या हट्ने विश्वास व्यक्त गरे।

यसअघि गोला प्रथाबाट पेशी तोकिँदै आएकोमा अब स्वचालित प्रणाली लागू भएको छ। सर्वोच्च र उच्च अदालतमा यो प्रणाली पहिले नै सुरु गरिएको थियो। यसले अदालतका कामकारबाहीलाई प्रविधिमैत्री बनाउने र महिनौंसम्म पेशीको पालो नआएको गुनासो सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
बैठकमा मेलमिलाप प्रक्रियालाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो।