विराटचोक — सुन्दरहरैंचा नगरपालिकाका किसान यतिबेला नगदे बालीका रूपमा कन्दमूल तरूल खन्नमै व्यस्त छन्। विगत दुई वर्षयता यस क्षेत्रमा तरूल खेतीप्रति आकर्षण तीव्र रूपमा बढ्दै गएको छ।
वडा नम्बर ७ र ८ राजमार्ग उत्तर तर्फका जमिनमा आजभोलि तरूल खेती जताततै देख्न सकिन्छ । स्थानीय किसान खेमराज कट्टेलले करिब तीन वर्षअघि थोरै जग्गाबाट तरूल खेती सुरु गरेका थिए। पहिलो वर्षमै लाख रुपैयाँभन्दा बढी आम्दानी भएपछि गाउँभर तरूल खेती विस्तार हुँदै गएको उनले बताए।
उनका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष वडा ७ र ८ बाट मात्रै करीब १ सय बिघा जमिनमा बिस्तार भएको खेतीबाट करिब २ करोड रुपैयाँ बराबरको तरूल बिक्री हुने अनुमान गरिएको अग्रज व्यवसायी कट्टेल बताउछन् ।

उनलेे अहिले ७ बिघा जमिनमा तरूल रोपेका छन् । यस सिजनमा ५० टन उत्पादन गर्ने लक्ष्य रहेको र करिब २० लाख रुपैयाँ नाफा हुने उनले बताए। युट्युबमार्फत सिकेर सुरु गरेको खेती अहिले निकै सफल भएको उनको भनाइ छ।
यहाँ उत्पादन हुने तरूल मुख्यत काठमाडौँमा बढी खपत हुने गर्छ। हात्तीछाप जातका गुलाबी रङका सजिलै खन्न सकिने भएकाले खेती गर्दा सहज हुने कृषक देवीरमण खरेल बताउँछन्। केरा बालीमा रोग बढेपछि विकल्पका रूपमा आफूले तरूल खेती रोजेको उनले जानकारी दिए।
पहिले पारिवारिक उपभोगका लागि मात्र रोपिने तरूल अहिले ठुलो खेतीका रूपमा विस्तार भएकाे छ ।

स्थानिय दोमट माटो, सुख्खा भू परिवेश र अनुकूल हावापानीका कारण तरूल खेती यहाँका लागि अति उपयुक्त मानिन्छ। अन्य बालीमा हात्तीको बढ्दो उपद्रवपछि किसान वैकल्पिक नगदे बालीतर्फ आकर्षित भएका हुन्।
तरूलको बाक्लो झाडीभित्र पस्न नसक्ने भएकाले यो खेती हात्तीबाट सुरक्षित छ,” खरेलले बताए।
तर बदेलले भने अलि दुख दिने गरेको उनले बताए ।
अहिले बारिमै प्रतिकेजी ४५ रुपैयाँका दरले तरूल बिक्री हुँदै आएको छ। व्यापारी दैनिक गाउँ गाउँमा जुटका बाेरा वितरण गर्दै हिड्छन् । खनेर त्याे बाेरामा लगाउने मात्रै काम हाे बिक्री नहाेला कि भनेर चिन्ता लिनुपर्ने अवस्था नरहेको कट्टेलले बताए ।

मंसिर १५ देखि पुस २७ सम्ममा याे तरूल खनि सक्नुहुन्छ विशेषत माघे संक्रान्तिका लागि बढी खपत हुने भएकाले किसानहरूले पुस २७ गतेसम्म सबै तरूल खनेर बिक्री गर्ने लक्ष्य राखेका छन्। एउटा बोटबाट करिब १० किलोसम्म उत्पादन हुने अग्रज कृषक कट्टेलको भनाइ छ। उनले मात्रै २२ जना जनशक्ति लगाएर धमाधम तरूल खन्दै गरेका छन् ।
अर्का किसान हरि थापाले पहिलो पटक २ कट्ठा जग्गामा तरूल लगाएको बताए। “थोरै जग्गामा पनि राम्रो आम्दानी हुने भएकाले यो खेती रोजेको हुँ,” उनले भने ।




