कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

तीनजुरे बचत तथा ऋण सहकारीको १९औं साधारणसभा सम्पन्न

विराटचाेक:  माेरङको सुन्दरहरैँचा–१० स्थित सुन्दरहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार तीनजुरे बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष दिपक गौतमको सभापतित्व रहेको थियो।

सभामा अध्यक्ष गौतमले आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। २०६३ सालमा स्थापना भएको सहकारीमा हाल ९३२ जना शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पुँजी रु. १ करोड १६ लाख ९३ हजार, बचत निक्षेप रु. ४ करोड ६२ लाख २ हजार र कोष रकम रु. ४० लाख २७ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

साधारणसभाको अवसरमा विभिन्न सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। नियमित मासिक बचतकर्ता भीमगोपाल ढकाल, शेयर बचत–ऋणतर्फ भानुभक्त ढकाल, धितो ऋणतर्फ विपशा देवान, नियमित बाल बचततर्फ दिलसना चौधरी, डिमोन चौधरी र युनिशा थपलियालाई सम्मान गरिएको हो। त्यसैगरी, ज्येष्ठ शेयर सदस्य रामप्रसाद तिम्सिना, शेयर सदस्यका ज्येष्ठ पिता देवीप्रसाद दाहाल र ज्येष्ठ माता धनमाया मास्केलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

 सामुदायिक विद्यालयतर्फ एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने सुकुना माविका विद्यार्थी तथा शेयर सदस्य तारा खड्काका छोरा विवेक खत्री र भावना सिटौला ढकालकी छोरी प्रभानी ढकाललाई सम्मान गरिएको हो।

सहकारीले आगामी आर्थिक वर्ष २०८२/८३ मा सहकारी शिक्षा कार्यक्रम, अध्ययन अवलोकन भ्रमण, स्वास्थ्य शिविर लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना प्रस्तुत गरेको छ। साथै सम्पूर्ण कारोबार नयाँ सफ्टवेयरमार्फत अनलाइन प्रणालीमा लैजाने लक्ष्य राखिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो। 

कार्यक्रममा लेखा समितिको प्रतिवेदन बालकृष्ण निरौलाले प्रस्तुत गर्नुभयो भने स्वागत मन्तव्य उपाध्यक्ष रामकुमार मास्केले दिनुभयो। तेह्रथुमेलीहरूले मिलेर स्थापना गरेको यो सहकारीमा हाल सुन्दरहरैँचा र बेलबारीमा बसोबास गर्ने तेह्रथुमेलीहरू शेयर सदस्य रहेका छन्।