विराटचाेक: माेरङकाे उत्तरी क्षेत्रमा रहेका तीन उद्योग वाणिज्य संघबिच अन्तरक्रिया सम्पन्न भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य संघ र सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घकाे आयाेजनामा सलकपुर स्थित सार्वजनिक पुस्तकालयमा भएकाे कार्यक्रममा बेलबारी वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिइएकाे थियाे । यसै अवसरमा तीनवटै वाणिज्य संघका पदाधिकारी विच संयुक्त अन्तरक्रिया भएको हाे । खास गरी बेलबारी उद्योग वाणिज्य संघमा नव निर्वाचित पदाधिकारीलाई बधाई दिने उदेश्य सहित याे कार्यक्रम आयाेजना गरिएको सुन्दरहरैँचा उद्योग वाणिज्य संघका महासचिव नारायण कार्कीले बताए । पछिल्लो समय स्थानीय सरकारले जग्गा वर्गीकरण गरेपछि बढेको करका विषयमा तीनवटै वाणिज्य संघ एक भएर जानुपर्ने बक्ताहरूले छलफलमा उठाएका थिए ।
बेलबारी उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्रले साझा एजेन्डा, कार्यक्रम लिएर व्यवसायी माझ जानुपर्ने धारणा राखेका थिए । यस्तै सुन्दरहरैँचा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नवराज चापागाईंले व्यवसाय प्रवर्द्धन, नयाँ व्यवसायलाई साथ सपाेर्ट हुने खालका विषयमा एक भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए । स्थानीय सरकारले कर बढाएकाले स्थानीय व्यवसायी समस्यामा परेकाे समेत बताए । व्यवसायीमा ज्ञान नभएकाले कतिपय व्यवसायीले जरीवाना तिर्न बाध्य भएको, विल भरपाईका विषयमै नजान्दा अडिटरकै भर पर्दा व्यापारीलाई समस्या देखिएको र यस्ता समस्यालाई आगामी दिनमा सबै मिलेर जानुपर्ने कृष्णप्रसाद रिजालले बताए ।

यस्तै राजमार्ग क्षेत्रमा पर्ने उद्योग वाणिज्य संघ बिच संयुक्त बैठक बस्ने र सबै व्यवसायीकाे हक हितमा एक भएर अघि बढ्ने याेजना रहेकाे अध्यक्ष रिजालले बताए । कर निति, उद्योग वाणिज्य संघकाे सवलिकरण, व्यवसायीकाे हितकालागि याे अन्तरक्रिया कार्यक्रम गरिएको हाे । कार्यक्रममा सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन प्रसाद ढुङ्गाना, बेलबारी उद्योग वाणिज्य संघका अध्यक्ष भेषराज श्रेष्ठ (अशाेक) सहित तीनवटै वाणिज्य संघका पदाधिकारीकाे उपस्थिति रहेको थियो ।