विराटचोक/फागुन ४ – सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा माघ ३० गतेदेखि सुरु भएको सुन्दरहरैंचा विराट एक्स्पो ४ मा आइतबार लोकप्रिय गायक दीपक बज्राचार्य र उनको ‘रिदम ब्यान्ड’को सांगीतिक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ।
हरेक दिन साँझ फरक-फरक राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति हुँदै आएको छ। सो क्रममा आइतबार साँगीतिक कार्यक्रममा बज्राचार्यको लाखे र झाँकीसहितको प्रस्तुतिले दर्शकलाई थप उत्साहित बनाएको थियो। सांस्कृतिक र आधुनिक संगीतको संगममा दर्शकहरू उत्साहका साथ झुमेका थिए।
बज्राचार्यले ‘निष्ठुरी मोरीलाई’, ‘ओ अमिरा’, ‘मन मगन’ लगायतका एक दर्जनभन्दा बढी लोकप्रिय गीतहरू प्रस्तुत गरे। उनको ऊर्जाशील प्रदर्शनले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा पि.एल.ओ. लुब्रिकेन्ट र होंसी सिमेन्टको सहप्रायोजनमा सञ्चालन भइरहेको एक्स्पोमा विभिन्न स्थानीय तथा राष्ट्रिय व्यावसायिक संस्थाहरूले आफ्ना उत्पादन र सेवाहरू प्रदर्शनमा राखेका छन्। सार्वजनिक शौचालय निर्माणका लागि सहयोग संकलन गर्ने उद्देश्यले यो एक्स्पो आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताए। उनका अनुसार एक्स्पो ४ ले स्थानीय व्यवसायिक समुदाय र सांस्कृतिक क्षेत्रमा नयाँ उचाइ थप्नुका साथै पर्यटन प्रवर्द्धनमा पनि महत्त्वपूर्ण योगदान पुर्याएको छ।