कोशी प्रदेश खेलकुद खेलकुद फिचर समाचार स्थानिय

दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता माघ ६ देखि ८ गतेसम्म

विराटचोक : दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता माघ ६ गतेदेखि ८ गतेसम्म मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गछिया खेल मैदानमा आयोजना हुने भएको छ । प्रतियोगिताबारे जानकारी आज आयोजित पत्रकार सम्मेलनमार्फत गराइएको हो । प्रतियोगिताको आयोजन सिद्धार्थ युवा समाजले गरेको हो । समाजका अध्यक्ष असिम राईले पत्रकार सम्मेलनमा जानकारी दिँदै हालसम्म विभिन्न जिल्लाका १२ वटा पालिकाबाट महिला भलिबल टिमको सहभागिता सुनिश्चित भइसकेको बताउनुभयो । उहाँका अनुसार महिला खेलाडी उत्पादन तथा प्रवर्द्धन गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।
खेलको प्रवर्द्धन सुन्दरहरैँचा खेलकुद विकास समितिले गरेको छ । प्रतियोगिताका खेल संयोजक पूर्व राष्ट्रिय खेलाडी पोष्टकुमार श्रेष्ठ रहनुभएको छ ।
कार्यक्रममा नगर खेलकुद विकास समिति सदस्य सचिव खड्ग श्रेष्ठको समेत उपस्थिति रहेको थियो । उहाँले नगरपालिकाले समग्र खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा सञ्चालन हुने अन्य खेल गतिविधिबारे पनि जानकारी दिनुभयो ।
प्रतियोगितामा दैनिक चार खेल सञ्चालन हुनेछन् । प्रथम हुने टिमले १ लाख ३३ हजार रुपैयाँ, द्वितीय हुने टिमले ६६ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै विजयी टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी ‘म्याच अफ द सिरिज’ खेलाडीलाई १ हजार ५ सय रुपैयाँ र उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा ओखलढुंगा, भोजपुर, धनकुटा, खोटाङ, संखुवासभालगायत पहाडी जिल्लाका पालिकाबाट समेत टिमको सहभागिता रहने जनाइएको छ । हालसम्म १२ वटा टिमको दर्ता भइसकेको आयोजकले जानकारी दिएको छ । थप २ वटा टिम पनि समाबेश हुने सम्भावना रहेको जनाईएकाे छ ।