कृषि-बातावरण फिचर समाचार स्थानिय

धर्मदेवीद्वारा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित

संखुवासभा : धर्मदेवी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ। नगर प्रमुख उदय चन्द्र पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार, नगरपालिकाले असार  ९ गते नीति कार्यक्रम तथा बजेटको प्रारम्भिक सिलिङ पास गरी असार २९ गते नगर सभा सम्पन्न गर्ने निर्णय गरेको थियो।

तर, नगर सभा संचालन गर्न बनेको ऐन, २०७४ को दफा १४ को उपदफा (१) बमोजिम २९ गते  बोलाएको बैठकमा गणपुरक संख्या नपुगी पुन: दफा १४ को उपदफा (२) बमोजिम बैठक आह्वान गरिएको र सो उपदफा (२) बमोजिम समेत गणपुरक संख्या नपुगेकोले पुन: उपदफा (३) बमोजिम बैठकको सूचना जारी गरिएको थियो। 

उपदफा (३) बमोजिम जारी गरिएको सूचना बमोजिम समेत गणपुरक संख्या नपुगेकोले उपदफा (४) बमोजिम एक तिहाई सदस्यको उपस्थितिलाई गणपुरक संख्या मानिने छ भन्ने उल्लेख भए अनुसार सभामा उपस्थित सदस्यलाई आधार मानी नगर सभा सम्पन्न गरिएको जानकारी दिइएको छ।

नयाँ बजेट तथा कार्यक्रममा विशेष गरी निम्न क्षेत्रहरूलाई प्राथमिकता दिइएको छ:

शिक्षा, स्वास्थ्यमा प्राथमिकता दिईएकाे छ । मुढे बजारमा विशेष अग्नि नियन्त्रण कार्यक्रम, धर्मदेवी सामुदायिक पुस्तकालय निर्माण, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुधार कार्यक्रम, सडक निर्माण (मुडे-मदानसिं, यावखा चोक-विहीवारे-मुलगाउँ सडक, मुडे-केवावेशी सडक)

,नगरपालिकाको भवन र वडा कार्यालय भवन निर्माणमा प्राथमिकता दिईएकाे हाे ।

नगर प्रमुखले यी कार्यक्रमहरूले जनताको भावनालाई सम्बोधन गर्ने र “स्वच्छ, सुन्दर घर, गाउँ, शहर, विकास र समृद्धि धर्मदेवीको रहर” भन्ने नारालाई सार्थक बनाउने उद्देश्य रहेको बताएका छन्। साथै, उनले स्वीकृत योजना तथा कार्यक्रम पूर्ण रुपमा सफल बनाउन सबै पक्षको अमूल्य सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेकाे समेत बताएका छन् ।

नगरको बजेटको शून्यतालाई अन्त्य गर्न र जनतालाई प्रदान गर्ने सेवा सुविधा तथा जनताका प्रत्यक्ष सरोकार राख्ने योजना कार्यक्रम र विकास निर्माणका कार्यलाई निरन्तरता दिन यो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।