सङ्खुवासभा, १७ श्रावण – जिल्लाको धर्मदेवी नगरपालिकामा जिल्लाकै पहिलो सामुदायिक पुस्तकालय स्थापना हुने भएको छ। दश स्थानीय तह रहेको यस क्षेत्रमा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
धर्मदेवी नगरपालिका वडा नं. ३ मुढेशनिश्चरेमा निर्माणाधीन पुस्तकालय भवन साढे तीन तलाको हुनेछ। हाल पहिलो तलाको ढलान सकिएको र दोस्रो तलामा इँटा लगाउने काम भइरहेको छ।
यस्तो बन्नेछ पुस्तकालय : तस्बिर नगरपालिका बाट
भवन निर्माण उप-समितिका संयोजक सुरेन बस्नेतका अनुसार, यो परियोजना शान्ति भोलेन्टियर एशोसिएसन नेपाल, रिड नेपाल, धर्मदेवी नगरपालिका र द पिपुल अफ जापानको आर्थिक सहयोगमा २ करोड ४७ लाख ७ हजार ७ सय ७८ रुपैयाँको लागतमा निर्माण हुँदैछ।
निर्माण समितिका अध्यक्ष भीम लिंखाले बताएअनुसार, यो केन्द्रले पुस्तक पठनका साथै विभिन्न सीपमूलक तालिम र कार्यक्रमहरू सञ्चालन गर्नेछ।
धर्मदेवी नगरपालिकाका नगरप्रमुख उदयचन्द्र पौडेलले यस बहुआयामिक पुस्तकालयले युवा, महिला, बालबालिका र जेष्ठ नागरिकहरूको आवश्यकतालाई ध्यानमा राख्नेछ भनी बताए। उनका अनुसार, यो पुस्तकालय मानिसहरूलाई जीवनपर्यन्त सिक्ने अवसर प्रदान गर्ने, समुदायका सदस्यहरूलाई भेला हुने, अध्ययन गर्ने र स्थानीय जानकारी आदानप्रदान गर्ने एक साझा स्थल हुनेछ। निर्माण कार्य छिट्टै सम्पन्न भई पुस्तकालय सञ्चालनमा आउने नगरप्रमुख पाैडेलले बताए ।